साउदी अरबमा मृत्यु भएकाको परिवारले पाए ‘ब्लडमनी’ स्वरुप १७ करोड

रामेछाप खबर संवाददाता

१७ साउन, काठमाडौं ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम पाएका हुन् ।

सो अवधिमा मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बाँकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी कुल ५० लाख ९० हजार ९१८ साउदी रियाल (१७ करोड ८ लाख ३ हजार ६९८ रुपैयाँ) मृतकको परिवारका नाममा पठाइएको दूतावासले जनाएको छ । गत आर्थिक वर्ष साउदी अरबमा दुर्घटना तथा विविध कारणले २०६ जना नेपालीको मृत्यु भएको थियो ।

मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको, १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार गरिएको र ८ जनाको शव पठाउन बाँकी रहेको जानकारी दूतावासले दिएको छ । दूतावासका अनुसार प्राकृतिक कारण (हृदयघात समेत) ११२ जना, आत्महत्या गरेर ३४ जना, सडक दुर्घटनामा परी ३१ जना, कार्यस्थल दुर्घटनामा परी १४ जना र कोरोना संक्रमणका कारण १४ जना नेपालीको गत वर्ष साउदी अरबमा मृत्यु भएको थियो । एक जना नेपालीको भने हत्या भएको थियो ।

ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा स्थानीय अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको दूतावासले जनाएको छ । त्यसमध्ये ५३ वटा केस अदालतमा दायर गरिएको छ ।

अनलाइन प्रणाली लागू भएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको सङ्ख्या बढ्यो
अनलाइनमार्फत नै आवेदन दिन सकिने भएपछि वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायता लिनेको सङ्ख्या बढेको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १४ सय ७९ श्रमिकका परिवारलाई अनलाइन प्रणालीबाट आर्थिक सहायता प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरूमा आर्थिक सहायता लिन काठमाण्डौमा रहेको वैदेशिक रोजगार बोर्डमै धाउन पर्ने नियम हुँदा एक हजारदेखि १२ सयको हाराहारीमा आवेदन आउने गरेमा गएको आर्थिक वर्षमा यो सङ्ख्या बढेर १४ सय ७९ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२ सय ४३ जना मृतक श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका छन् । अहिले बोर्डमा आर्थिक सहायताका लागि आवेदन दिन पहिलेको तुलनामा निकै सजिलो छ । वैदेशिक रोजगार नियमावलीको पाँचौँ संशोधनले आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

‘अहिले त आफ्नै पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ, खर्च गरेर काठमाण्डौ आएर होटेलमा बस्नु पर्दैन’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘पालिकामा गएर निवेदन दिएपछि बोर्डले कानुन अनुसार पाउने आर्थिक सहायता रकम बैङ्क खातामा नै पठाइहाल्छ, यही व्यवस्थाको कारण अहिले निवेदन दिने र आर्थिक सहायता पाउनेको सङ्ख्या बढेको हो ।’

यस्तै गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका २४५ जना श्रमिकले पनि अनलाइन प्रणालीबाटै बोर्डबाट पाइने आर्थिक सहायता पाएका छन् । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १४३ थियो । वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको श्रम अवधि भित्रै वा अवधि सकिएको एक वर्षभित्र मृत्यु भएमा नजिकको हकवालालाई ७ लाख रुपैयाँ र श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर फर्किएमा विशेषज्ञ टोलीको सिफारिसमा बढीमा ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिन्छ ।

आवश्यक कागजात र प्रक्रिया पुर्‍याएर बोर्डबाट पाइने आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै आवेदन दिन सकिन्छ । पालिकाले बोर्डमा आवेदन पाउनेछ । पालिकाले पठाएको आवेदनको जाँचबुझ गरी बोर्डले सम्बन्धी हकवालाको बैङ्क खातामा नै आर्थिक सहायता रकम पठाउँछ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत विभिन्न जिल्लाहरूमा रहेका आप्रवासी स्रोत केन्द्रले पनि यस्तो आवेदनको आवश्यक प्रक्रिया गर्न सहयोग र समन्वय गर्छन् ।