वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको शव घरसम्म पुर्‍याउन मात्रै २६ करोडभन्दा धेरै खर्च

रामेछाप खबर संवाददाता

१४ साउन, काठमाडौं ।

फाइल फाेटाे
गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव काठमाण्डौबाट घरसम्म पुर्‍याउनका लागि मात्रै बोर्डले २६ करोड ३ लाख ५१ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । वर्ष २०७८/७९ मा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी बोर्डले ३८ जना महिला र ७५७ जना पुरुष गरी ७९५ जना श्रमिकको शव घरसम्म पुर्‍याउन यो रकम खर्च गरेको हो । विदेशमा ज्यान गुमाउनेहरूको शव बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क घरसम्म ढुवानी गर्ने गर्छ ।

विदेशबाट नेपालमा शव झिकाउनका लागि पनि बोर्ड गन्तव्य देशसँग समन्वय गरी रकम ९५ लाख २३ हजार ४५८ रुपैयाँ पठाएको छ । विदेशमा ज्यान गुमाएका २१३ जना श्रमिकको शव स्वदेश झिकाउन सम्बन्धित देशमा रहेको नेपाली दूतावाससँग समन्वय गरी रकम पठाएको हो ।

आर्थिक सहायता अनलाइनबाट
श्रमिक र उनका परिवारलाई बोर्डले अनलाइनबाटै आर्थिक सहायता प्रदान गरेको जनाएको छ । बोर्डका अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ सय ७९ श्रमिकका परिवारलाई अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरेको छ । ४६ जना महिला र १४ सय ३३ जना पुरुष गरी १४ सय ७९ जना मृतक श्रमिकका परिवारलाई अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डले अनलाइन प्रणालीमार्फत १४ सय ७९ जना मृतक श्रमिकको परिवारलाई ८३ करोड ६ लाख ९९ हजार रुपैयाँ प्रदान गरेको छ । पहिले वैदेशिक रोजगार बोर्डमार्फत पाइने आर्थिक सहायता रकम लिन काठमाण्डौमा रहेको बोर्डको कार्यालयमै आउन पथ्र्यों । तर पछिल्लो केही वर्षयता बोर्डले आर्थिक सहायता रकम अनलाइन प्रणालीबाट प्रदान गरिरहेको छ ।

आवश्यक प्रक्रिया पूरा गरी आर्थिक सहायताका लागि पालिकाबाटै निवेदन दिन सकिन्छ । पालिकाले प्रमाणित गरेर पठाएको आवेदन जाँच गरी वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता रकम बैक खातामा पठाउँछ । यस्तै वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग वा बिरामी भएका २४५ जना श्रमिकलाई ९ करोड १७ लाख ७५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । यो आर्थिक सहायता रकम पनि अनलाइन प्रणालीबाटै प्रदान गरेको बोर्डले जनाएको छ ।

९ जना श्रमिकका परिवारलाई ४ लाख ३० हजार रुपैयाँ औषधी उपचारका लागि प्रदान गरेको छ ।यस्तै बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिम बापतको ३ लाख २५ हजार ५ सय रुपैयाँ शोधभर्ना गरेको छ । ४६५ जना महिला श्रमिकलाई अभिमुखीकरण गरेबापत रकम शोधभर्ना गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगार छात्रवृत्ति बापत बोर्डले २ करोड ४८ लाख ८६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । १२ सय ४३ छात्रा र १३ सय ५१ जना छात्र गरी २५ सय ९४ जनालाई बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गरेको हो ।

वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै मृत्यु वा अङ्गभङ्ग भएका श्रमिकका बालबालिकालाई बोर्डले १२ कक्षासम्म पढ्नका लागि वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गर्छ । यी सबै कार्यबापत बोर्डले गएको आर्थिक वर्षमा झण्डै एक अर्ब रुपैयाँ खर्च गरेको छ । उज्यालो