जापानमा बाँदर आतंक: मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो

रामेछाप खबर संवाददाता

१२ साउन, काठमाडौं ।

जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन्। उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए। सुरुमा यसलाई बेहोस पारिएको थियो। त्यसपछि उक्त बाँदरलाई मारिएको थियो। मकाकले झण्डै ५० जनालाई घाइते बनाएका छन्।

करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन्। बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन्। आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ। ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन्। नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौँ’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ। सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ।

यो पनि..इराकमा पनि श्रीलंकाको झल्को, संसद् भवनमा पसे प्रदर्शनकारी
इराकको बग्दादस्थित संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका छन्। अति संरक्षित ग्रिन जोनमा रहेको अवरोध तोडेर बुधबार सयौं मानिस इराकको संसद्मा पुगेका हुन्। प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल सद्रका समर्थक संसद् भवन प्रवेश गरेको बीबीसीले जनाएको छ। ९ महिनाअघि इराकीहरूले आफ्नो पछिल्लो आमचुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ।

देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्रीका लागि पछिल्लो नामांकनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए।

हालैमात्र श्रीलंकामा प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा पसेर रमाइलो गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको थियो। कोही भने राष्ट्रपति सुत्ने बेडमा तस्बिर खिचाइरहेका थिए। केही दिनपछि मात्र सुरक्षाकर्मीले बल प्रयोग गरी राष्ट्रपति निवास खाली गरेका थिए।