घर बनाउने जग्गा खोज्दै हुनुहुन्छ? यी कुराहरु बुझेर मात्र किन्नुहोस्

रामेछाप खबर संवाददाता

१२ साउन, काठमाडौं ।

घर बनाउने योजना छ र त्यसका लागि जग्गा किन्न खोज्दै हुनुहुन्छ? कस्तो खालको जग्गा किन्ने भनेर अलमल पनि होला। जग्गाको प्रकृति र कस्तो ठाउँमा छ भन्ने कुराले घरको डिजाइनमा ठूलो प्रभाव पार्छ। घरको बलियोपनमा पनि जग्गाको प्रकारले केही हदसम्म भूमिका खेल्छ। उपयुक्त र सही जग्गा नभएकै कारण कतिपयले आफूले सोचेझैं घर नभएर थकथकी मान्नुपर्ने अवस्था पनि छ।

त्यसैले घर बनाउन जग्गा किन्दा के के कुरामा ध्यान दिने भन्नेबारे हामीले यहाँ इञ्जिनियर विपीन गैरेको सहयोगमा तपाईंहरूलाई जानकारी द‍िएका छौं। सुरक्षित जग्गा तथा त्यसका लागि उपयुक्त डिजाइनको घरका बारेमा अधिकांश मानिस अनभिज्ञ भएको बताउँदै उनी भन्छन्, ‘जग्गा किन्न हामी निकै मेहनत गर्छौं। तर जग्गा कत्तिको सुरक्षित छ, वास्तु मिलेको छ या छैन र त्यसबाट कस्तो घर बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिँदैनौं। बरू त्यसको भाउ आगामी दिनमा कति बढ्ला भन्ने धेरै चासो हुन्छ।’ उनका अनुसार जग्गा किन्दा थुप्रै कुरामा ध्यान दिनु पर्छ।

पहिलो र महत्त्वपूर्ण पक्षक हो जग्गाको कानुनी पक्ष। आफूले किन्न लागेको जग्गा कानुनी रूपबाट मान्यता प्राप्त छ कि छैन, राम्ररी बुझ्नु पर्छ। नक्साअनुसार जग्गा छ कि छैन, कित्ता नम्बर मिल्छ मिल्दैन, त्यसमा ध्यान दिनु पर्छ। कतिपयले जग्गा हेरे पनि नक्सा हेर्दैनन्। यस्तो गर्नु हुँदैन। नक्सा र जग्गा दुवै हेर्नु उत्तिकै जरूरी छ।

जग्गा किन्दा मुख्य बाटो कता छ, छेउछाउमा गोरेटो बाटो, नहर, कुलो–कुलेसा, राजकुलो छ कि छैन भन्नेमा पनि ध्यान दिनु पर्छ। जग्गाको बीचमा त्यस्ता गोरेटो वा बाटो छ भने सरकारी मापदण्ड अनुसार छेउछेउमा जग्गा छोड्नु पर्छ। त्यसैले त्यो भाग छाड्दा आफूले किन्न लागेको जग्गा कति हुन्छ, पुग्छ कि पुग्दैन भन्नेमा बुझ्नु पर्छ।

बाटो जोडिएको ठाउँमा जग्गा किन्दै हुनुहुन्छ भने त्यो बाटो पछि कत्रो बन्छ, त्यो विषयमा नगर/गाउँपालिकामा गएर जानकारी लिनु पर्छ।जग्गासँग जोडिएको बाटोको चौडाइ हेर्न आवश्यक हुन्छ। आफूले किन्ने जग्गाअगाडि बाटो कस्तो भन्ने थाहा पाउनु पर्छ। मापदण्डअनुसार बाटो छोड्न जग्गा पर्याप्त छ कि छैन ख्याल गर्नुपर्छ।

आफूले किन्न लागेको जग्गाको वरिपरि बिजुलीको प्रसारण लाइन छ कि छैन, त्यसमा पनि ध्यान दिन आवश्यक छ। ‘प्रसारण लाइन भए सकेसम्म जग्गा नकिन्दा राम्रो,’ गैरेले भने, ‘किन्नै परे त्यसको मापदण्डबारे जान्नु पर्छ।’ उनका अनुसार बिजुली प्रसारण लाइन ११ केभी (किलोभोल्ट) भन्दा कम छ भने उक्त लाइनदेखि डेढ मिटर छाडेर मात्रै संरचना बनाउन सकिन्छ।

त्यस्तै वरिपरि ११ केभीदेखि ३२ केभीसम्मको प्रसारण लाइन भए त्यो लाइनबाट ३ मिटर छोड्नुपर्छ। तर कुनै पनि स्थानमा ३३ केभी र योभन्दा बढीको प्रसारण लाइन छ भने १५ मिटर टाढा घर बनाउनु पर्छ। अनि प्रसारण लाइन जग्गाको माथि भएको अवस्थामा त्यसमा कुनै पनि संरचना बनाउन नपाइने व्यवस्था छ।

आफूले किन्न लागेको जग्गा कसरी पास भएर आएको छ, त्यसमा पनि ध्यान दिन उनी सुझाउँछन्। अहिले परिवारलाई थाहै नदिई बेचिएको जग्गाको समस्या धेरै आएको छ। अंश दाबी हुने जग्गा छ भने पनि फिर्ता गर्नु पर्छ। सकेसम्म श्रीमान श्रीमती दुवैको सहमतिमा बेचिएको जग्गा उपयुक्त हुन्छ,’ इञ्जिनियर गैरेले सुझाए।

जग्गा कुनै विवादमा परेको छ कि छैन भन्नेमा ध्यान दिनु पर्छ। त्यसको लागि जग्गा भएको ठाउँमै गएर वरिपरिका मानिससँग जानकारी लिन सकिन्छ। सकेसम्म जग्गा किन्दा डेड-इन्डमा (बाटो टुंगिने) किन्न हुँदैन। किन्नै परे पनि त्यस्तो जग्गाको मापदण्डबारे पनि जानकारी लिनु पर्छ।

घर बनाउन उपयुक्त जग्गा किन्ने हो भने कम्तीमा चार आना एक दाम किन्नु पर्ने गैरे बताउँछन्। ‘कानुनी मापदण्डअनुसार त्यो भन्दा कमको जग्गामा घर बनाउन पाइँदैन। जग्गाको मोहडा पनि १६ फिटभन्दा कम हुनु हुँदैन,’ उनले भने। जग्गा किनेर घर बनाइसकेपछि ढल निकास र खानेपानीको विषय महत्त्वपूर्ण हुन्छ। पछि समस्या नआओस् भन्नका लागि बाथरूम, शौचालयबाट जाने पानीको ढल निकास व्यवस्था भएको ठाउँमा जग्गा किन्नु पर्छ। अनि सकेसम्म सरकारी धारा पुगेको ठाउँमा किन्दा उपयुक्त हुन्छ।

घर बनाउन जग्गाको माटो उपयुक्त हो या होइन भन्नेबारे पनि उत्तिकै ख्याल गर्नुपर्ने उनको भनाइ छ। झट्ट हेर्दा राम्रो र मिलेको देखिएको जग्गा पहिले पोखरी भएको हुन सक्छ। काठमाडौं, भक्तपुर र ललितपुरले घर बनाउन नमिल्ने क्षेत्रलाई सिमसार भनेर वर्गीकरण गरेको छ। त्यस्ता जग्गा घर बनाउन उपयुक्त हुँदैन।

माटो पुरेर सम्याइएको जग्गा पनि तुरून्तै घर बनाउन उपयुक्त नहुने गैरे बताउँछन्। माटो पुरेको क्षेत्रमा कम्तीमा ६ देखि सात वर्षसम्म घर बनाउन मिल्दैन। घर बनाइयो भने दुई-तीन वर्षमा घर ढल्किले, चर्किने सम्भावना धेरै हुन्छ।

यसबाहेक अग्लो घर बनाउने योजना छ भने त्यसका लागि उपयुक्त ठाउँ खोज्नु पर्छ। ‘कतिपय ठाउँमा अग्लो घर बनाउन पाइँदैन, त्यसमा पनि हामीले ध्यान दिनु पर्छ,’ उनले भने, ‘जस्तै एयरपोर्टको नजिक तोकिएको क्षेत्र नजिकै जग्गा किन्यो भने नियमअनुसार एक तलाभन्दा अग्लो घर बनाउन नपाइने व्यवस्था छ।’

कानुनी र अन्य प्राविधिक पक्ष एकदम राम्रो छ तर उक्त जग्गा धितो राखेर बैंकले ऋण दिन्छ कि दिँदैन भन्ने बारे पनि ख्यान राख्नु पर्छ। बैंकले ऋण नदिने जग्गा बेच्न निकै कठिन हुने उनी बताउँछन्। जग्गा किन्दा सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। आफू बस्ने समाज कस्तो छ, समाजका मान्छेको प्रवृत्ति कस्तो छ, यी कुराबारे जानकारी लिन सकियो भने घरमा आनन्दले बस्न सकिन्छ। सेतोपाटी