वेस्ट इण्डिजमाथि भारतको रोमाञ्चक जित, एक खेल अगावै जित्यो सिरिज

रामेछाप खबर संवाददाता

९ साउन, काठमाडौं ।

घरेलु टोली वेस्ट इण्डिविरुद्धको एकदिवसीय सिरिज भारतले जितेको छ । गएराति सम्पन्न दोस्रो खेलमा दुई विकेटले विजयी भएसँगै उसले एक खेल अगावै सिरिज जितेको हो । पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । दोस्रो खेलमा ३१२ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा आठ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अक्षर पटेल, श्रेयस अय्यर र सञ्जु स्यामसनले अर्धशतकीय पारी खेले ।

६४ रनमा अविजित रहेका पटेलले ३५ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । अय्यरले ७१ बलमा चार चा‌ैका र एक छक्कासहित ६३ रन जोडे । स्यासनले ५१ बलमा समान तीन चौका र छ्क्कासहित ५४, शुभमन गिलले ४३ र दीपक हूडाले ३३ रनको योगदान दिए ।

वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ र काइल मेयर्सले दुई/दुई तथा जेडन सिल्स, रोमारियो सेफर्ड र अकिल हुसेनले एक/एक विकेट लिए । त्यसअघि ट्रिनिडाडको क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।

उसका लागि शाई होपले शतकीय तथा कप्तान निकोलस पूरनले अर्धशतकीय पारी खेले । ११५ रन बनाएका होपले १३५ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । पूरनले ७७ बलमा ६ छक्का र एक चौकासहित ७४, काइल मायर्सले ३९, सम्राह ब्रुक्सले ३५, रोमारियो सेफर्डले अविजित १४ र रोभमन पावेलले १३ रन जोडे । भारका लागि शार्दुल ठाकुरले तीन तथा दीपक हुडा, अक्षर पटेल र युजवेन्द्र चहलले एक/एक विकेट हात पारे । यो जितसँग‌ भारतले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै सुखद सुरुवातको लक्ष्यमा नेपाल
साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षकले टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन,’ प्रशिक्षक केसीले भने, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन । तर, हामी यहाँ जित्न आएका हौं ।’ त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने उनको भनाइ छ ।

यता, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर, टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ । यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोबिन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।