प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घट्यो कुखुराको मासु

रामेछाप खबर संवाददाता

२८ असार, काठमाडौं ।

कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ। एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको उनले बताए। ‘अहिले उत्पादन धेरै छ। उत्पादन बढेपछि मूल्य घट्नु स्वभाविक हो,’ उनले भने। यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको उनको भनाई छ। हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए। ‘एक महिनाको बीचमा एक सय भन्दा बढी घट्नु धेरै हो,’ उनले भने, ‘अब घट्दैन होला।’

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी
सानै उमेरदेखि व्यावसायिक सोच बनाउनुभएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देख्नुभएको उहाँ आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया जानुभयो । इपिएस भाषा अध्ययन गरेर कोरिया जानुभएको जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आउनुभएको छ । उहाँले छ वर्ष कोरिया बसाइँ टुङ्ग््याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आउनुभएको हो ।

जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । “व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो” उहाँले भन्नुभयो, “दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।” जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् ।

उहाँले कोरियाबाट आउदा कमाएको रकममध्ये रु १० लाखको लागतमा फर्म स्थापना गर्नुभएको हो । सुरुमा एक पटक कुखुरा हाल्दा रु एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताउनुभयो ।

कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उहाँले भन्नुभयो । “सुरुआतमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन” जिसीले भन्नुभयो,“अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।” उहाँले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आउनुभएको छ । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उहाँले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिनुभयो । कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिन्छ ।

कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उहाँले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताउनुभयो । अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी रु ४६० रहेको छ ।