रासायनिक मलको विकल्पमा गड्यौले मल

रामेछाप खबर संवाददाता

२५ असार, काठमाडौं ।

स्याङ्जाका कृषकले रासायनिक मलको विकल्पकारुपमा गड्यौले मल प्रयोग गर्न थालेका छन् । खेत रोप्ने समयमा रासायनिक मल नपाएर उत्पादन घट्ने चिन्तामा रहेका कृषकले गड्यौले मललाई विकल्पकारुपमा प्रयोग गर्न थालेका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका समूह, सहकारी तथा अगुवा कृषकले रासायनिक मल नपाएपछि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीमार्फत गड्यौले मल खरिद गरी खेतबारीमा प्रयोग गरेका हुन् । वालिङ–६ लालुपातेका अगुवा कृषक रेशमलाल रेग्मीले रासायनिक मल नपाएपछि तरकारी खेतीमा प्रयोग गर्नका लागि गड्यौले मल प्रयोग गरेको बताउनुभयो ।

“बजारमा रासायनिक मल नपाएपछि तरकारीखेतीको उत्पादनमा कमि आउँछ कि भन्ने भएर त्यसको विकल्पमा गड्यौले मल प्रयोग गरेको हुँ”, उहाँले भन्नुभयो, “पहिलो वर्ष रासायनिक मलको विकल्पका रुपमा गड्यौले मलको प्रयोग गर्दा उत्पादन राम्रो भयो । अहिले निरन्तररुपमा गड्यौले मल प्रयोग गर्दै आएको छु ।”

दुई रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दा रासायनिक मलको विकल्पमा गड्यौले मल मात्रै प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएकाले अहिले तरकारी पकेट कार्यक्रमअन्तर्गत समूहमा सहभागी अन्य कृषकले पनि गड्यौले मलको प्रयोग थालेको उहाँले बताउनुभयो । गड्यौले मलको प्रयोगले उत्पादन राम्रो भएसँगै अहिले आफूले पनि घरमै गड्यौला पाल्न थालेको उहाँले बताउनुभयो ।

वालिङ–१२ का यवनाथ न्यौपानेले पनि गड्यौलापालन गर्नुभएको छ । उहाँले घरमै उत्पादन भएको मललाई आफैँले खेतबारीमा प्रयोग गर्नुका साथै बिक्रीसमेत गर्दै आउनुभएको छ । “घरमै वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा ‘भर्मी बेड’ तयार गरी गड्यौलापालन गरेको छु”, न्यौपानेले भन्नुभयो, “रासायनिक मलको सट्टामा गड्यौले मल प्रयोग गर्ने गरेको छु भने अरु सोही सहकारीलाई बिक्री गर्दै आएको छु ।”

गड्यौले मल जति उत्पादन गरे पनि सहकारीले बजारीकरण गरिँदै आएकाले बिक्री नहुने भन्ने समस्या नरहेको बरु उल्टै मागअनुसार मल उत्पादन गर्न नसकिएको न्यौपाने बताउनुहुन्छ । वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा एक वर्षको अवधिमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत ३०० बढी कृषकले व्यावसायिकरुपमा गड्यौलापालन गर्दै आएको सहकारीका प्रबन्धक एवं कार्यक्रम संयोजक विशाल बगालेले बताउनुभयो ।

“सहकारीले निःशुल्करुपमा गड्यौला, गड्यौला पाल्ने भाँडो तथा आवश्यक तालिम दिएसँगै गड्यौलापालनतर्फ पछिल्लो समय कृषक आकर्षित भएका छन्”, संयोजक बगालेले भन्नुभयो, “अहिले बजारमा रासायनिक मलको अभाव हुँदा कृषकले गड्यौले मललाई विकल्पकोरुपमा प्रयोग गर्दै आउनुभएको अवस्था छ ।” गड्यौलापालन गर्दै आउनुभएका कृषकले उत्पादन गरेको गड्यौला तथा मल दुवैको बजारीकरणको ग्यारेन्टी सहकारीले लिएकाले पनि बजारको कुनै समस्या नरहेको संयोजक बगाले बताउनुहुन्छ ।

“गड्यौले मलको माग वालिङ भित्रै पनि अत्यधिक छ, मागअनुसार उपलब्ध गराउन सकिरहेका छैनौँ”, संयोजक बगालेले भन्नुभयो, “वालिङभन्दा बाहिरबाट पनि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट मलको माग भइरहेको छ तर पु¥याउन सकेका छैनौँ ।”

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेषगरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै कृषक गड्यौलापालनतर्फ आकर्षित हँुदै गएका छन् । नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनःउत्थान प्रवद्र्धन परियोजना’अन्तर्गत वालिङका १४ वटै वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

मानव स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्दै आइएको गुरुङले बताउनुभयो । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्दै गड्यौलापालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

रासायनिक मलको विकल्पकारुपमा समेत गड्यौले मलको प्रयोग बढ्दै गएकाले अहिले गाउँगाउँमा कृषक गड्यौलापालनतर्फ आकर्षित हुँदै गएका छन् । गड्यौले मलको माग बढ्दै गइरहेको छ । लगानी र मेहनत कम लाग्ने तर गड्यौला र मल दुवै बिक्री गरेर दोहोरो फाइदा लिन सकिने भएकाले पनि यसतर्फ कृषकको आकर्षण बढ्दै गएको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

अहिले गड्यौला प्रतिकिलो रु एक हजार ७०० का दरले बिक्री हुँदै आएको छ भने मल प्रतिकिलो रु ३०–३५ मा बिक्री हुने गरेको छ । बिरुवाले गड्यौले मलमा भएको खाद्यतत्वलाई सजिलैसँग लिन सक्दछ भने यो मल अरु मलभन्दा गुणस्तर मानिन्छ । यो मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुने गर्छ । झारपात र घरमा निस्कने कुहिने फोहरबाट गड्यौलापालन गरी जैविक मल उत्पादन गर्न सकिन्छ ।