वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

रामेछाप खबर संवाददाता

१० असार, काठमाडौं ।

मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत यूएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किनरारा एकेडेमी ओभलमा भइरहेको खेल पहिलो पारी सकिएलगत्तै वर्षाका कारण रोकिएको थियो ।

खेल रोकिएपछि युएई समूह विजेताको रूपमा फाइनल प्रवेश गर्दै एसिया कपमा छनोट भएको छ । नेपाल समूह ‘बी’ को उपविजेता तथा युएई समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए । आइसिसीको नियमअनुसार नेपाल बाहिरिन पुगेको हो ।

प्रतियोगिताको फाइनल शनिबार हुने हुँदा रिजर्भ डे थिएन । अर्कोतर्फ यसै मैदानमा आज दिउँसो १२ बजेदेखि दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैको कारण नेपाल र युएईबीचको खेल रद्द भएको हो । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

उसका लागि वैश्णवी महेशले १६, इशा ओझाले १५ र छाया मुगलले १४ र खुसी शर्माले १२ रन बनाए । नेपालका लागि अस्मिना कर्माचार्यले शानदार बलिङ गरिन् । ३.५ ओभर बलिङ गरेकी उनले १० रन दिएर महत्वपूर्ण ५ विकेट लिइन् । त्यस्तै, इन्दु वर्माले तीन र सीताराना मगरले दुई विकेट लिए ।