बलात्कार गरेर महिलासँग भएको नगद र गहना लुटेको आरोपमा एक व्यक्ति पक्राउ

रामेछाप खबर संवाददाता

७ असार, काठमाडौं ।

एक महिलालाई बलात्कार गरेर उनको साथमा रहेको नगद र गहना लुटपाट गरी फरार रहेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका–९, घर भइ हाल बनेपामा डेरा गरी बस्ने अन्दाजी २८/२९ वर्षीय विश्व तामाङ छन्। उनले गएको जेठ २९ गते बेलुकाको समयमा २४ वर्षीय ती महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक होटलमा लगेर बलात्कार गरेका थिए।

भोटे, जय, आशिषलगायतका नामबाट आफूलाई चिनाउने गरेका तामाङले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभनमा गेष्ट हाउसमा राखी पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

तामाङले ती महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए। त्यसपछि पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएकी थिइन्।
तत्कालै ती महिलालाई परोपकार प्रसुती गृह लगी उनको विस्तृत स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धानको थालेको प्रहरीले जनाएको छ। पीडकको नाम, थर, ठेगाना समेत थाहा नभएको, उनको फोटो समेत नरहेको र गेष्‍ट हाउसमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएको पाइएको थियो।

तर, प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा तामाङलाई यही असार ५ गते राति ११ बजे पक्राउ गर्‍यो। उनीमाथि मुलुकी अपराध (संहिता)अनुसार कारबाही गर्न अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।