काठमाडौंको नेपालटारमा पुलबाट मिनीट्रक खस्यो

रामेछाप खबर संवाददाता

६ असार, काठमाडौं ।

काठमाडौं नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ । प्रहरी वृत्त बालाजुका अनुसार बा. ४ ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको हो ।
दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

यो पनि…पहिराले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिनुभयो ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताउनुभयो । पहिराले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ ।

पहिराले पुल आसपासको भू–भाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उहाँले बताउनुभयो । लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताउनुभयो । सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।