काठमाडौंमा दुई जना हैजाका बिरामी भेटिएको पुष्टि

रामेछाप खबर संवाददाता

५ असार, काठमाडौं ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला लागेर उपचार गर्न आएका दुई जनामा हैजाका जिवाणु भेटिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार काठमाडौं महानगरपालिका-२८ मा बस्दै आएका एकै परिवारका दुई जनामा हैजाको जिवाणु देखिएको छ। उनीहरू १८ र २३ वर्षका रहेको मन्त्रालयले जनाएको छ।

दुई बिरामीमा हैजाको जिवाणु भेटिएपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले त्यसको नियन्त्रणको लागि सरोकारवालासँग आकस्मिक बैठक  बसेको मन्त्रालयले जनाएको छ।

यसअघि २०७८ असोज १८ गते कपिलवस्तुको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा पनि हैजा देखिएको थियो। प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो। त्यतिवेला एक हजार पाँच सय जना संक्रमित भएका थिए भने सात जनाको मृत्यु भएको थियो। 

इपिडीमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार चार वर्षपछि पहिलो पटक नेपालमा हैजाको प्रकोप फैलिएको थियो। त्यही महीना सप्तरीको रुपनी गाँउपालिकामा पनि हैजाको प्रकोप फैलिएको थियो। त्यहाँ भने मानवीय क्षति हुनबाट जोगिएको थियो।

खानेकुरा, खानेपानी र व्यक्तिगत सरसफाइका कारण हैजा फैलिने विज्ञहरू बताउँछन्। अहिलेको सन्दर्भमा खानेपानी दुषित भएर हैजा फैलिएको हुनसक्ने सरुवारोग विशेषज्ञ डा. पुनको भनाइ छ। उनका अनुसार कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हैजा हुन्छ। सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुन्छ। सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्छ।

सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिने डा. पुन बताउँछन्। उनका अनुसार हैजा भएका मानिसलाई निरन्तर दिसा लाग्छ। त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिन्छन्। “शरीरबाट अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने तथा बेचैनी समेत हुन्छ,” डा. पुन भन्छन्।