१८५ यात्रु सवार स्पाइसजेटको विमानमा आगलागी

रामेछाप खबर संवाददाता

५ असार, काठमाडौं ।

भारतको बिहारको राजधानी पटनाबाट दिल्लीका लागि उडेको स्पाइसजेटको विमानमा आगो लागेको छ । उक्त आगलागी पश्चात विमानलाई पटना एयरपोर्टमा आपतकालीन अवतरण गरिएको थियो। उक्त विमानमा जम्मा १८५ यात्रु सवार थिए । अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।

पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए । मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइँदै छ ।

यस्तो छ स्पाइसजेटको प्रतिक्रिया
यो विमानमा सवार १८५ यात्रु पूर्णरुपमा सकुशल रहेकाले स्पाइस जेट एयरलाइन्सले वक्तव्य जारी गरेको हो । स्पाइसजेटका प्रवक्ता जितेन्द्र शर्माले भनेका छन्, ‘हाम्रो विमान बी७३७–८०० मार्फत पटनाबाट दिल्ली जाँदै गरेको फ्लाइट नम्बर एसजी–७२३ को इन्जिनमा चरा ठोक्किएपछि विमानलाई मानक दिशानिर्देश अनुसार पटना फर्काउने निर्णय गरिएको थियो ।’

उनले थप भनेका छन्, ‘सो क्रममा हाम्रा पाइलटले पटनामा सुरक्षित आपतकालीन अवतरण गराए र विमानमा सवार सबै यात्रुलाई सकुशल बाहिर निकालियो । प्रारम्भिक अनुसन्धानमा विमानका तीनवटा फ्यान ब्लेडमा क्षति पुगेको छ । घटनाको अनुसन्धान प्रतिवेदन आएपछि मात्रै केही भन्न सकिनेछ ।’