आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा १६ वर्षका किशोरले गरे आत्महत्या

रामेछाप खबर संवाददाता

२८ जेठ, नयाँ दिल्ली ।

भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि लेखेको पाइएको छ ।

सुसाइड नोटमा मृतकले आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने गरेको लेखेका छन् । सोही नोटमा उनले आत्महत्या गर्न गएको , अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्नु भनेर लेखेका छन् । बिहीबार साँझ नै ओम मोबाइलमा गेम खेलिरहेको बेला उनकी आमाले उनको हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरेको उनकी आमाले पछि दुःखी हुँदै सम्झिन् ।

ती किशोरको शव मलाड र कांदिवली स्टेशनको बीचमा फेला परेको छ । साँझपख आमा घर बाहिर निस्किँदा बालक मर्ने मनसायले निस्किएको कुरा आमा घर फर्किँदा उनले छोराले छाडेको सुसाइड नोट फेला पारेपछि मात्र थाहा पाइन् । सुसाइड नोट पाएपछि लगतै परिवारले परिवारले प्रहरी चौकीमा खबर गरेका थिए । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ ।

यो पनि..रुसी कब्जामा रहेको युक्रेनी सहर मारिउपोलमा कालाजार महामारीको खतरा
रुसी सेनाको आक्रमणले ध्वस्त भएको तथा रुसको नियन्त्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा कालाजार महामारीको प्रकोप सुरु हुने खतरा बढेको छ । बेलायती रक्षा मन्त्रालयले जनाएअनुसार मारिउपोलमा कालाजारको महामारी सुरु हुन सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र संघले जनाएअनुसार मारिउपोलको अधिकांश भौतिक पूर्वाधार ध्वस्त भएको तथा पानीमा ढल मिसिएको छ । कालाजार सामान्यतया दूषित खानेकुरा वा पानी खाँदा लाग्ने गरेको तथा यो उचित सरसफाइ नगर्ने कुरासँग पनि जोडिएको बीबीसीले उल्लेख गरेको छ । ​मारिउपोलमा पहिले नै कालाजारको प्रकोप भएको र गत महिनामा कैयौं मानिसमा यो रोग देखिएको बताइएको छ ।

मारिउपोलका मेयर भाडिम बोचेन्कोले कालाजार तथा अन्य संक्रामक रोगहरू पहिले नै सहरमा रहेको र ठूलो प्रकोपबाट बच्न सहर बन्द गरिएको बताए । तर रुसी अधिकारीले भने नियमित परीक्षण भइरहेको तथा अहिलेसम्म कालाजार नभेटिएको दाबी गरेका छन् । अर्कोतर्फ युक्रेनी स्वास्थ्य मन्त्रालयले आफूहरुलाई सिमित जानकारी मात्र गराइने गरिएको भएपनि परिक्षणको समयमा कुनै बिरामी फेला नपरेको जनाएको छ । कालाजार गम्भिर प्रकृतिको रोग भएको तथा समयमा उपचार नगरे केही घण्टामै बिरामीको मृत्यु हुने गर्छ ।