सार्बजनिक स्थानमै नायिका मिरुना मगरलाई गलत तरिकाले छोएपछी हानिन् थप्पड

रामेछाप खबर संवाददाता

१६ जेठ, काठमाडौं ।

सेलिब्रेटी भएकै कारण सामाजिक सञ्जालमा कलाकारले विभिन्न प्रकारका दुर्व्यवहार र अपशब्दको सामना गरिरहनु परेको छ । आफूलाई मन नपरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता तल्लोस्तरमा गिरेर सेलिब्रेटीलाई कमेन्ट गर्न पछि पर्दैनन् । ट्रोल र मिमको त के कुरा गर्नु, लाग्छ चरित्र हत्या कै लागि यस्ता ग्रुप र पेज बनाइएका हुन् । तर, यस्तो व्यवहारबाट दिक्दार केही अभिनेत्रीहरुले भने आफ्नो तरिकाले एक्सन लिन थालेका छन् ।

सुन्दरी प्रतियोगिताका आयोजकले बलात्कार गरेको आरोप लगाएर एक युवतीले आफ्नो कथा सार्वजनिक गरेपछि केही अभिनेत्रीहरु विवादमा समेत तानिए । कारण थियो, पूर्व मिस नेपाल माल्भिका सुब्बाको समर्थन गरेको । यसमा मुख्य रुपमा प्रियंका कार्की तथा निशा अधिकारीको नाम अघि आयो । प्रियंकाले आफुले लेखेको ‘मोर पावर टु यु दिज्यु’ भन्दा पनि आशिफ शाहको पोस्टमा गरेको कमेन्टको कारण बढी आलोचना खेप्न पर्यो । उनी माथि अपशब्दको वर्षा नै भयो । अन्तत: उनले उक्त कमेन्ट नै हटाउनु पर्ने स्थिती आयो ।

यी सबै तुच्छ टिप्पणीको कारण उनलाई असुरक्षित महसुस भयो क्यारे, उनले चरित्र हत्या गर्नेहरुलाई सामाजिक सन्जालमार्फत नै साइबर अपराधमा जाहेरी दिने धम्की दिइन । उनको धम्कीले सायद सन्जाल प्रयोगकर्ता डराएनन् । दिक्दार भएर उनले कमेन्टबक्स केही सिमित व्यक्तिका लागि मात्रै खुल्ल गरिन् । तर जे होस्, उनी आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोलिन् ।

यता राजनितीमा लागेपछि करिश्मा मानन्धरलाई पनि छुट्टै सकस छ । उनीमाथि लेख्नै असहज हुने व्यक्तिगत आरोप आएपछि उनी रुष्ट भएकी छन् । उनले आफूविरुद्ध भएको हिंसाको जवाफ स्वरुप प्रेस काउन्सिलसम्म पुगेकी छन् । उनले सामाजिक सन्जालमा समेत यस्ता कमेन्ट नगर्न चेतावनी दिँदै केही स्क्रिनसट समेत सर्वजनिक गरेकी छन् ।

आइतबारमात्रै सिनेमा हल भिजिटको क्रममा काठमाडौंको सुन्धारास्थित सिभिल मलबाट बाहिर निस्किने क्रममा ‘कबड्डी ४ः फाइनल म्याच’ की अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार गरियो । भिडमा मिरुना मगरलाई एक व्यक्तिले पटक–पटक अभद्र तरिकाले छोएका थिए ।

त्यसको प्रतिउत्तरमा उनले एक थप्पड हानेर ती तामाङ थरका व्यक्तिलाई प्रहरीको जिम्मा लगाइन् । ती व्यक्तिले हात जोडेर माफी मागे पनि अन्तत प्रहरीले उक्त व्यक्तिलाई लिएर गयो । यसरी सेलिब्रेटी भएकै हैसियतले अपशब्द र अभद्र व्यवहार सहनै पर्छ भन्ने भ्रम चिरिँदै आएको छ ।