सरकारले ल्यायो किसान पेन्सन योजना, १० प्रतिशत रकम सरकारले नै जम्मा गरिदिने

रामेछाप खबर संवाददाता

१५ जेठ, काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा किसान पेन्सन योजना ल्याएको छ । आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थापना गरिने बताए । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने उनले बताए । उनले भने, ‘कोष स्थापना गर्न बीउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट
सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभएको हो । यसमा कृषि सङ्कलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्बुलेन्सको व्यवस्थापन, कृषि बीमा विस्तार गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

सरकारले उखु किसानलाई सहुलियत दिनका लागि ८१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

मासिक १० करोड रुपैयाँ भन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म महसुलमा छुट
मासिक १० करोड रुपैयाँ भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगले विद्युत् छुट पाउने भएका छन्। उद्योग क्षेत्रको विकास, बैदशिक लगानी आकर्षण गर्ने उद्देश्य खोलिएका उद्योगको मानिस खपत १० करोड रुपैयाँभन्दा बढी बिद्युत्को खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत महसुलमा छुट दिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै यो छुट दिने घोषणा गरिएको हो। धागो, सिमेन्ट लगायतका ठूला उद्योगीले विद्युत महशुलमा छुट माग्दै आएका थिए। उनीहरुले उत्पादन प्रतिस्पर्धी बनाएर निकासीका लागि महशुल छुटको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए।