कबड्डी ४ को आक्रामक ओपनिङ, बनायो कीर्तिमान

रामेछाप खबर संवाददाता

१४ जेठ, काठमाडौं ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४– द फाइनल म्याच’ लाई नेपाली चलचित्रको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ मिलेको छ । पहिलो दिनमा पूर्ण अकुपेन्सीका साथ यस फिल्म व्यापारको नयाँ कीर्तिमान रच्न सफल भएको हो । यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । जुन अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो प्राप्त गरेका छैनन् ।

फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी गरेका छन् । फिल्मले पहिलो दिनमै साढे तीन करोडको व्यापार गरेको बताइएको छ । यसअघि सर्वाधिक व्यापारको कीर्तिमान दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ ले राखेको थियो । सो चलचित्रले पहिलो दिन दुई करोड हाराहारी कलेक्सन गरेको थियो ।

तीन करोडको लगानी गरिएको भनिएको फिल्मले रिलिजअगाडि नै डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार)बाट लगानी उठाइसकेको छ  । फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर मुख्य भूमिकामा छन् ।

यो पनि..गीताञ्जली श्री बनिन् इन्टरनेसनल बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका
भारतीय लेखिका गीताञ्जली श्रीले इन्टरनेसनल बुकर पुरस्कार जितेकी छिन् । उनी यो प्रतिष्ठित साहित्य पुरस्कार हासिल गर्ने पहिलो भारतीय अझ दक्षिण एसियाली लेखिका बनेकी छन् । श्रीले हिन्दीमा ‘रेत समाधी’ शीर्षकमा लेखेको उपन्यासलाई डेजी रकवेलले ‘टुम अफ स्यान्ड’ नाममा अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् ।

उपन्यासले एकजना ८० वर्षीया महिलाको कथा भन्छ जसको जीवनमा पतिको मृत्युपछि जीवनमा नयाँ पाटाहरु खुल्न थाल्छन् । सन् १९४७ को समयको भारतको विभाजनको पृष्ठभूमिमा भनिएको कथाले लेखिकाले आघात, मातृत्व र नारीवादजस्ता विषय छोएकी छन् । इन्टरनेसनल बुकर पुरस्कार अङ्ग्रेजीमा अनुवाद भएका अख्यानलाई दिइने पुरस्कार हो । यसका लागि पुस्तक संयुक्त अधिराज्य वा आयरल्याण्डमा प्रकाशित हुनुपर्ने सर्त पनि रहेको छ । अन्तर्राष्ट्रिय बुकर पुरस्कार र बुकर पुरस्कारबाट एउटै संस्थाले वितरण गर्ने भए पनि अलग अलग हुन् । बुकर पुरस्कार मुल रुपमा अङ्ग्रेजीमा लेखिएका उपन्यासलाई दिइन्छ ।

सन् १९९७ मा भारतीय लेखिका अरुन्धती रोय उनको उपन्यास ‘गड अफ स्मल थिङ’का लागि बुकर पुरस्कार जित्ने पहिलो भारतीय बनेकी थिइन् । अब लेखिका श्री र अमेरिकी अनुवादक रकवेलले ५०,००० पाउण्ड पुरस्कार बराबरी बाँडेर पाउनेछन् । पुरस्कार जितेपछि विहीबार लन्डनमा मन्तव्य दिने क्रममा श्रीले आफूले इन्टरनेसनल बुकर पाउने कुरा सपनामा पनि कल्पना नगरेको बताउँदै जितले आफू चकित र सम्मानित महसुस गरिरहेको बताइन् । पुरस्कार छनौट समितिका प्रमुख फ्रान्क विनले पुस्तकमा ‘उत्साह र जीवन, शक्ति र जोशले भरिएको’ बताए ।

अनुवादक रकवेलले ‘गीताञ्जलीको लेखनको प्रयोगात्मक शैली’ र ‘भाषाको विशिष्ट प्रयोग’ ले गर्दा यो कृति उनले अनुवाद गरेकोमध्ये ‘सबैभन्दा कठिन’ कृतिमध्ये एक भएको बताइन् । उनको जितले ‘हिन्दी साहित्यको बृहत्तर संसारलाई ठूलो दायरामा ल्याउँछ’ उनले बताइन् । ‘लामो इतिहास भएको साहित्यको एक विशाल संसारमाथि अझै प्रकाश परेको छैन भन्ने कुरामाथि पनि यसले जोड दिन्छ,’ श्रीले बुकर पुरस्कार वेबसाइटलाई दिएको एक अन्तर्वार्तामा भनेकी छन् । –सीएनएनबाट