बलिउड अभिनेता सलमान खान नेपाल नआउने, यस्तो छ कारण !

रामेछाप खबर संवाददाता

१० जेठ, काठमाडौं ।

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।

आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ । यसअघि पनि सलमानको कार्यक्रम स्थगित भएको थियो भने टिकट ठगी काण्डमा आयोजक सीमान्त गुरुङ मुछिएका थिए ।

यो पनि….छायांकनको क्रममा घाइते भए विजय र सामन्था
विजय देवरकोन्डा र सामन्था रथ प्रभु छायांकनको क्रममा घाइते भएका छन् । उनीहरु पछिल्लो समय कश्मीरको एक विषयमा बनिरहेको फिल्म ‘कुशी’ मा सँगै अभिनय गरिरहेका छन् । कश्मीरमा अभिनय गर्ने क्रममा नै उनीहरु दुबै घाइते भएका हुन् । फिल्मको निर्माण टिमसँग जोडिएको एक सदस्यले हिन्दोस्तान टाइम्ससँग कुराकानी गर्दै घाइते भएको जनाएका हुन् । उनले भने , ‘उनीहरू लिद्दर नदीको किनारमा छायांकन गरिरहेका थिए । त्यही क्रममा उनीहरु पानीमा लडेका हुन् । त्यो दृश्य जोखिमपूर्ण नै थियो’ ।

घाइते भएपछि नजिकको अस्पतालमा उपचार गरेर सेटमा फर्किएता पनि विजय र सामन्थाले छायांकन गर्न सकेनन् । उनीहरूले त्यो दिन रेस्ट गरेपछि मात्र छायांकन गरेका हुन् । ‘उनीहरूलाई छायांकनमा निकै कठिनाइ आएको थियो । किनकी उनीहरूको हड्डीमा चोट लागेको थियो’ ती सदस्यले भने । फिल्ममा विजयले आर्मी अफिसरको भूमिका निर्वाह गरेका छन् । फिल्म आउँदो डिसेम्बरमा तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ ।