पोखरा महानगर मतगणना : अहिलेसम्म कसको कति मत ?

रामेछाप खबर संवाददाता

७ जेठ, काठमाडौं ।

स्थानीय तह निर्वाचतअन्तर्गत पोखराको मतगणनामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवारले अग्रता ३ हजार पार गरेका छन् । उपमेयरमा भने एमाले अघि छ । शनिबार आठौं दिनसम्मको गणनामा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार धनराज आचार्यले लगातार अग्रता लिएका हुन् । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई पछि पार्दै एमालेकी मञ्जुदेवी गुरुङले ‘लिड’ गरेकी छन् ।

शनिबार रातिसम्म ९२ हजार ५ सय ६१ मतगणनामा मेयर उम्मेदवार आचार्यले ३७ हजार १ सय २२ मत र एमालेका कृष्ण थापाले ३३ हजार ८ सय ५० मत ल्याएका छन् । दुवैबीच कडा प्रतिस्पर्धा कायमै रहे पनि धनराजले मतान्तर फराकिलो बनाउँदै ३ हजार २ सय ७२ पारेका हुन् । राप्रपाका शंकर खरालले ४ हजार २ सय २८ प्राप्त गर्दा स्वतन्त्रका खड्कराज पौडेल (गनेस) ले २ हजार ४ सय ४५ मत पाए ।
उपमेयरमा एमालेकी गुरुङले ३८ हजार ५ सय ७६ र कांग्रेसकी रानाभाटले ३७ हजार ५ सय ४५ मत मत ल्याएकी छन् । राप्रपाकी रञ्जना सेनको ४ हजार १ सय ३१ मत छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मतमा हालसम्म करिब ७५ प्रतिशत मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखराका कुल ३३ वटा वडामध्ये हालसम्म १९ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा १०, ११, १५, १६, १७, १८, २९, ३० र ३१ नम्बर वडाको गणना जारी छ । पोखरा १९, २१, २२, ३२ र ३३ नम्बर वडाको गणना हुन सकेको छैन ।

जुम्लामा कांग्रेस र माओवादीको नेतृत्व
जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाही दुई हजार ३४१ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसले हिमा, कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्ष र चन्दननाथ नगरमा उपप्रमुख जितेको हो ।

त्यस्तै माओवादीले तिला, सिंजा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसहित जित हासिल गरेको छ । तातोपानी, पारारासी गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको हो । नेकपा एकीकृत (समाजवादी) पार्टीले जिल्लाको गुठीचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ ।

विसं २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो । एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । जिल्लामा अहिले एमालेले आफ्नो विरासत गुमाएको छ ।

यसैबीच जिल्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहणलगत्तै अध्यक्ष शाहीले गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको शाहीले बताउनुभयो ।