भरतपुरमा रेणु दाहाललाई अहिलेसम्मकै धेरै अग्रता, यस्तो छ ताजा मत परिणाम

रामेछाप खबर संवाददाता

७ जेठ, चितवन ।

भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । ८० हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो । गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले छ हजार ५७० मतले अग्रता लिएकी छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् ।

दाहालले ३१ हजार २४३ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गरिन् । भरतपुरमा हालसम्म वडा नम्बर १६ सम्मको गणना सम्पन्न भइसकेको छ । महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।

नवनिर्वाचित महानगर प्रमुख–उपप्रमुखलाई प्रमाणपत्र
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकामा विजयी हुने जनप्रतिनिधिलाई आज यहाँ आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरियो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले महानगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीलगायत सम्पूर्ण १९ वडाका अध्यक्ष तथा सदस्यलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा महानगरप्रमुख कोइरालाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्योपचारका लागि चाँडै महानगर अस्पताल निर्माण गरी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख कार्कीले पालिकालाई ‘महिला मैत्री’ बनाउने उद्देश्यले कार्य गर्ने बताउँदै महिला सीपमूलक तालिम, सुकुम्वासीमुक्त सहर निर्माण गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत लम्सालले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, प्रहरी, प्रशासन एवं सञ्चारकर्मीको ठूलो भूमिका रहेको जनाउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।