भरतपुर महानगर : यस्तो छ ताजा मत परिणाम, कसको मत कति ?

रामेछाप खबर संवाददाता

७ जेठ, काठमाडौं ।

स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा ७६ हजार ५६६ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेनु दाहालले निकटतम प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि छाडेकी छन् । रेनुले २९ हजार ६७५ मत पाएकी छन् । नेकपा एमालेका उमेदवार विजय सुवेदीले २३ हजार ८६१ मत ल्याएका छन् । रेनु विजयभन्दा ५ हजार ८१४ मत अन्तरले अगाडि छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार ४२४ मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको थियो । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३२ हजार मत पाउँदा राप्रपाकाका उमेदवार हिमला गुरुङले १८ हजार ४९४ मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ । दुवै वडाका कांग्रेस उमेदवारको अग्रता छ ।

पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

पोखरामा शनिबार दिउँसो २ः३० बजेसम्म ८५ हजार १५७ मतगणना सकिएकामा आचार्यले ३४ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापाले ३० हजार ९४९ मतसहित पछ्याइरहनुभएको छ । प्रमुखमा आचार्य र थापाको मतान्तर तीन हजार ३८७ रहेको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । त्यस्तै प्रमुखमा राप्रपाका शङ्कर खरालले तीन हजार ८३५ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले दुई हजार ३३५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महानगरको उपप्रमुखमा एमालेका मञ्जुदेवी गुरुङले ४६५ मतले अग्रता बनाउनुभएको छ । गुरुङले ३५ हजार ३१२ मत प्राप्त गर्दा कांग्रेसका कोपिला रानाभाटले ३४ हजार ८४७ मत ल्याउनुभएको छ । गणनाको सुरुआतदेखि अग्रता बनाउनुभएका रानाभाट शुक्रबार रातिदेखि गणनामा पछि पर्नुभएको हो ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।