काठमाडौं वडा नम्बर ११मा सिर्जनाले लिईन अग्रता, बालेन र केशबको कति मत ?

रामेछाप खबर संवाददाता

७ जेठ, काठमाडौं ।

काठमाडौंको कोर एरियामा पर्ने अर्को वडाको मतगणना सुरु भएको छ । वडा नम्बर ११ को प्रारम्भिक मतगणनामा कांग्रेसकी सिर्जना श्रेष्ठ अगाडि छन् । हालसम्म १०० वटा मत गणना सकिएकोमा सिर्जनाले ४३ मत ल्याएकी छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापित १७ मतका साथ तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको ३ भोट मात्र आएको छ । यो वडा त्रिपुरेश्वर क्षेत्रमा पर्छ । उपमेयरको मतगणनामा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । उनले २५ मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १० भोट ल्याएका छन् ।

यो पनि….नरैनापुरमा जसपा विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिनुभएको हो ।

अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गर्नुभएको छ । शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याउनुभएको थियो । नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गर्नुभएको छ । श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अतिकुनले तीन हजार ६७२ मत ल्याउनुभएको छ । तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले दुई हजार ८०४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित हुनुभएको छ ।