होसियार है ! जापानमा फोन हराएको झुठो रिपोर्ट गर्दै नयाँ फोन लिन खोज्ने पक्राउ

रामेछाप खबर संवाददाता

नागोया ।

संदिग्ध धोखाधडी वा सेवाको दुरुपयोग आरोपमा एक भियतनामी कर्मचारीलाई नागोया प्रहरीले पक्राउ गरेको छ । जानकारी अनुसार मोबाइल फोन हराएको झुटो दाबी पेश गर्दै मोबाइल फोन कम्पनीबाट नयाँ फोन लिन खोज्दा ति व्यक्ति पक्राउ परेका हुन् । अभियुक्तले शहरको एक प्रहरी स्टेशनमा आफ्नो स्मार्टफोन हराएको रिपोर्ट गरेको र नयाँ मोबाइल प्राप्त गर्न मोबाइल फोन कम्पनीको नोक्सान क्षतिपूर्ति सेवा प्रयोग गरेकोमा ठगीको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्ति ह्योगो प्रिफेक्चरको मिकी सिटीका ३० वर्षीय भियतनामी कर्मचारी गुयेन तुइ चाङ हुन् । प्रहरीका अनुसार, गुयेनले अर्का व्यक्तिसँग मिलेर नागोया शहरको तेनपाकु प्रहरी चौकीमा मे ३ तारिखमा आफ्नो स्मार्टफोन हराएको र मोबाइल फोन कम्पनीको क्षतिपूर्ति सेवा प्रयोग गरी १,५०,००० ठगि गरेका थिए ।

प्रहरीका अनुसार, एउटै कारण देखाएर फोन हराएको भन्दै नयाँ फोन लिएर कम्पनीहरुलाई धोका दिने भियतनामीहरू देशभरि पक्राउ परेका घटनाहरू छन् र धेरै भियतनामीहरूले अप्रिल ३ देखि तेन्पाकु प्रहरी स्टेशनमा स्मार्टफोनहरू हराएको रिपोर्ट गरेका छन् । यो घटना पुष्टिपछि प्रहरीले अन्य दाबीहरुमा अनुसन्धान अघि बढेको बताएको छ ।

प्रहरीले अन्य केसहरूमा पनि अनुसन्धान गरिरहेको छ जहाँ स्मार्टफोन हराएको भन्दै निवेदन र फोन कम्पनीलाई धोका दिएर नयाँ फोन लिएका वा लिन खोजिरहेका छन् । प्रहरीले उनीहरूले फोन प्राप्त गरिसकेका वा नगरेको बारेमा भने केही खुलासा गरेको छैन ।

जापानमा रहेका नेपालीहरुमा पनि बेलाबखत फोन हराएको भन्दै प्रहरीमा उजुरी लेखाउने र फोन कम्पनीबाट फेरी अर्को फोन लिने गरेको सुन्न पाईन्छ । तपाईं पनि यस्तै गर्ने सोच, तयारी वा गर्नुभएको छ भने होसियार रहनुहोला र अरुलाई पनि सचेत गराउनुहोला । एउटा फोन लिने लोभले प्रहरी खोरमा र ईज्जतमा कतै दाग नलागोस् ।