श्रममन्त्रीकाे निर्देशन : “श्रमिकका लागि विमानस्थलमा छुट्टै प्रवेशद्वार नराखी सम्मानजनक व्यवहार गर्नु “

रामेछाप खबर संवाददाता

६ जेठ, काठमाडौं ।

श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन यही जेठ महिनाभित्रै भैरहवामा वैदेशिक राेजगार कार्यालय स्थापना गर्ने घाेषणा गर्नुभएको छ ।

भैरहवामा उद्योग वाणिज्य संघले आयाेजना गरेकाे कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनिका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयाे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीसहित सराेकारवलाहरुले वैदेशिक राेजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रकृया भैरहवाबाटै पूरा हुनुपर्ने माग गरेका थिए ।

मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे श्रमिक सहायता कक्षकाे पनि अवलाेकन गर्नुभएको थियाे । विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखी सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिनुभएको छ । गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठ सहितकाे टाेली शुक्रबार भैरहवा आएकाे हाे ।

यो पनि..भैरहवाबाटै वैदेशिक रोजगारीमा जानेलाई आवश्यक सेवा दिन प्रबन्ध मिलाउँछौँ : श्रम मन्त्रालय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिन आवश्यक प्रबन्ध गर्न श्रम मन्त्रालयले तयारी थालेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्ने श्रम मन्त्रालयले जनाएको छ । भैरहवामा वैदेशिक रोजगार सम्बन्धी कार्यालयका साथै म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको छिट्टै विस्तार गर्ने मन्त्रालयको योजना छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकै दिनदेखि जजिरा एयरवेजले कुवेत भैरहवा व्यवसायीक उडान गरिरहेको छ भने खाडीका अन्य श्रम गन्तव्य देश साउदी र कतारबाट पनि उडान भर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

तर नयाँ श्रम स्वीकृति, म्यानपावर कम्पनी र अभिमुखीकरण तालिम दिने संस्था लगायत काठमाण्डौ नै केन्द्रित भएकाले भैरहवा हुँदै वैदेशिक रोजगारीमा जानेहरू काठमाण्डौ आउन पर्ने बाध्यता छ । तर विमानस्थल सञ्चालनमा आएसँगै श्रम मन्त्रालय आवश्यक सेवा प्रदानका लागि प्रबन्ध गर्न तयारीमा जुटेको छ । photo file