भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

रामेछाप खबर संवाददाता

५ जेठ, काठमाडौं ।

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजाराँैको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने भएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख रमेश अर्यालले बताउनुभयो । गत आवमा वैदेशिक रोजगारीका लागि एक लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकामा चालु आवको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति जारी भएको कार्यालयले जनाएको छ ।

यो पनि… विमानस्थलमा सिफ्टमा काम गर्ने कर्मचारीले सातामा दुई दिन बिदा नपाउने
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको छ । तर विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । तर सिफ्टमा काम गर्ने कर्मचारीले भने प्राधिकरणले तोकेको सिफ्ट समय अनुसार साताको ६ दिन नै ड्युटी गर्नुपर्ने नियम बनेको छ ।

प्राधिकरणका निर्देशक विनोदप्रसाद न्यौपानेले प्राधिकरण मातहतका निकायलाई पत्राचार गर्दै बिदाबारे निर्णय जानकारी गराएका छन् । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । सोहीअनुसार त्रिभुवन विमानस्थलले स्लट व्यवस्थापन गरी कार्यान्वयन थालेको हो ।

विमानस्थलको अपरेसन समय २४ घण्टा सञ्चालन गर्दा प्रतिसिफ्ट ड्युटी समय साढे ६ घण्टा तोकिएको छ । यसरी सिफ्ट कायम गर्दा बिहान ६ बजेबाट दिउँसो साढे १२ बजेसम्म पहिलो सिफ्ट तोकिएको छ । दिउँसो साढे १२ देखि साँझ ७ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ । साँझ ७ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्म तेस्रो सिफ्ट तोकिएको छ । तेस्रो सिफ्टमा तोकिएको साढे ६ घण्टाभन्दा बढी हुन आउने अतिरिक्त समयका लागि भने अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने गरी प्राधिकरणले ड्युटी आवर तोकेको छ ।