पार्टीबाट टिकट नपाएर बागी उठेका ३ जना वडाध्यक्षहरुमा विजयी

रामेछाप खबर संवाददाता

३ जेठ,झापा ।

झापाका तीन वडामा ‘बागी’ उम्मेदवार विजयी भएका छन् । गौरादह नगरपालिका ३, झापा गाउँपालिका ३ र बाह्रदशी गाउँपालिका ४ मा ‘बागी’ उम्मेदवारहरू विजयी भएका हुन् । गौरादह ३ को वडाध्यक्षमा एमालेका ‘बागी’ दिलिपकुमार भण्डारी विजयी भएका हुन् । उनले एमालेका गजेन्द्रप्रसाद घिमिरेलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै वडाध्यक्षमा जित हासिल गरे ।

‘जेब्रा’ चुनाव चिह्न लिएर लडेका भण्डारीले १ हजार ९४ मत पाए भने निकटतम प्रतिस्पर्धी घिमिरेले ५ सय ८६ मत मात्र पाए । घिमिरे यसअघिका पनि वडाध्यक्ष हुन् । योपल्ट पार्टीबाट वडाध्यक्षको टिकटका लागि लामो प्रयास र लबिङ गरेपनि पार्टीले पुनः घिमिरेलाई नै टिकट दिएपछि भण्डारी बागी उम्मेदवार उठेका थिए ।

जिल्लाको झापा गाउँपालिका ३ को वडाध्यक्षमा पनि ‘बागी’ उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बागी सुवासलाल गणेश वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धीहरू एमालेका खड्गनारायण राजवंशी र कांग्रेसका भागिरथप्रसाद गणेशलाई पराजित गरे । सुवासलाल कांग्रेसका क्रियाशील कार्यकर्ता हुन् । पार्टीबाट उम्मेदवार छनोटका क्रममा भएको ‘भोटिङ’ मा पनि सुवासलालको नाम पहिलो नम्बरमा आएको थियो । तर कांग्रेस गाउँ सभापति सागिरथप्रसाद गणेशले आफ्ना दाजु भागिरथप्रसादलाई वडाध्यक्षको टिकट दिने निर्णय गरेपछि सुवासलाल बागी उम्मेदवार उठेका थिए । ‘भुईँकटर’ चुनाव चिह्न लिएर वडाध्यक्षमा निर्वाचित सुवासलालले ९५५ मत प्राप्त गरे । निकटमत् प्रतिस्पर्धी एमालेका खड्गनारायणले ६ सय ६३ र कांग्रेसका भागिरथले ५ सय ५९ मत मात्र प्राप्त गरे।

यस्तै बाह्रदशी गाउँपालिका ४ मा कांग्रेसका ‘बागी’ उम्मेदवार विजयी भएका छन् । उक्त वडामा बागीको प्यानल नै विजयी भएको हो । कांग्रेसका पुराना क्रियाशील महताव आलमले पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । बाह्रदशीमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपछि उक्त वडामा माओवादीले उम्मेदवार उठाएको थियो । गठबन्धनविरुद्ध प्यानल बनाएर बागी उम्मेदवारी दिएका आलमको प्यानल नै निर्वाचित भएको हो । आलमले ७ सय ५२ मत पाएका थिए भने गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका समिम मियाँले ५ सय ९१ मत मात्र पाए ।

‘गुलाफको फूल’ चिन्ह लिएर चुनाव लडेको आलम प्यानलबाट महिला सदस्यमा कल्पना श्रेष्ठ, दलित महिला सदस्यमा सुमित्रादेवी मोची तथा सदस्यमा विवेककुमार गणेश र बलबहादुर बानियाँ निर्वाचित भएका हुन् । दलित महिला सदस्य सुमित्रा र सदस्य विवेक पनि कांग्रेसका बागी हुन् । कल्पना एमालेकी बागी हुन् । कान्तिपुर