भरतपुर महानगर : यस्तो छ मतगणनाको ताजा अपडेट, कसको कति ?

रामेछाप खबर संवाददाता

३ जेठ, काठमाडौं ।

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहनुभएको छ । स्वतन्त्रबाट उम्मेदवार रहनुभएका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गर्नुभएको छ । वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ ।

यो पनि….सायलमा कांग्रेसका जोशी विजयी
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा सोही पार्टीका निर्मला बोहरा ओली विजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार जोशीले तीन हजार २४३ र उहाँका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार २४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ओलीले दुई हजार ९३७ र उहाँका प्रतिस्पर्धी एमालेका विष्नादेवी सिंहले दुई हजार १५४ मत प्राप्त गर्नुभएको छ । छवटा वडामध्ये पाँच वटामा कांग्रेस र एउटा वडामा एमाले वडाध्यक्षमा विजयी भएका छन् ।

जोरायलमा एमाले विजयी
जिल्लाको जोरायल गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत टीकाराम ढकालका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नुभएका दुर्गादत्त ओझाले तीन हजर ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपककुमार विष्टले तीन हजार ४१२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन ५९९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्राकुमारी साउदले तीन ५१७ मत प्राप्त गर्नु भएको छ ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)का किरण मल्लले एक हजार ६५९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)का प्रेमाकुमारी ओलीले ८३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नं १ बाट वडाअध्यक्षमा एमालेका जगतबहादुर मल्ल, वडा नं २ बाट सोही पार्टीकै वीरबहादुर दर्लामी, वडा नं ३ बाट कांग्रेसका नवीन ओझा, वडा नं ४ बाट एमालेका नन्दलाल भट्ट, वडा नं ५ बाट कांग्रेसका ध्वजबहादुर देउवा तथा वडा नं ६ बाट एमालेका गणेश बोहरा विजयी हुनुभएको छ । उक्त पालिकामा मतदाता सङ्ख्या १३ जहार ३१५ रहेकामा नौ हजार २६९ मत खसेको थियो ।