काठमाडौं महानगरको मतगणनामा कर्मचारी नै अलमलिए, ७ मत गन्दा यस्तो छ परिणाम

रामेछाप खबर संवाददाता

३१ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको छ । वडा नम्बर ३२ मा भने गणना भइरहेको छ ।

वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका हुन् । दुईवटा हलो चिह्नका उम्मेदवारसमेत गणनास्थलमा पुगेपछि कर्मचारी अलमलमा परेको बताइएको छ ।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ । नेपाल प्रेसबाट

हरिनास १ मा कांग्रेसका गुरुङ विजयी

स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले ८०४ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गर्नुभयो । दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ । त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।