युएईका राष्ट्रपति शेख खलिफाको निधन, ४० दिनसम्म शाेक मनाइने

रामेछाप खबर संवाददाता

३० वैशाख, काठमाडौं ।

संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख खलिफा विन जायद अल नहयानको निधन भएको छ । शेख खलिफाको ७३ वर्षको उमेरमा शुक्रबार निधन भएको युएईको सरकारी सञ्चार एजेन्सी डब्लुएएमले जनाएको छ । राष्ट्रपति शेख खलिफाका लागि ४० दिनसम्म शोक मनाइने छ भने राष्ट्रिय झण्डा पनि झुकाइने बताइएको छ ।

त्यसैगरी, सरकारी तथा निजि कार्यालयहरू पनि तीन दिनका लागि बन्द गरिनेछन् ।शेख खलिफा युएईका संस्थापक नेता जायद विन सुल्तान अल नाहयानका जेठा छोरा हुन् । शेख खलिफा सन् २००४ देखि युएईका राष्ट्रपति थिए ।

यो पनि…नाइजेरियामा कुटपिट गरी छात्राको हत्या

एउटा क्रुर घटनामा नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । व्हाट्सएपमा निन्दनीय भनाई पोस्ट गरेको आरोपमा साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र साक्षीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी राज्य सोकोटोमा उक्त पाशविक घटना भएको हो । विद्यार्थीको मृत्युपछि तत्काल विद्यालय बन्द गरिएको थियो । उक्त घटनामा दुई संदिग्ध पक्राउ परेका छन् । मारिने व्यक्ति डेबोरा सामुएल भएको सोकोटो राज्य कमान्डका प्रवक्ताले बताए ।

‘विद्यार्थीहरूले प्रयोग गरिरहेको एउटा व्हाट्सएप समूह छ । त्यहाँ उनको मुस्लिम सहकर्मी विद्यार्थीले इस्लामिक विषय पोस्ट गरेका थिए । सो पोस्टको उनले आलोचना गरिन् । उनले एक अडियो पोस्ट गरिन, जसमा इस्लामका धर्मगुरु पैगम्बरप्रति निन्दापूर्ण टिप्पणीहरू छन्’, एक साक्षीको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ । विद्यालय सुरक्षा र प्रहरीले पीडितलाई बचाउने प्रयास गरे पनि नसकिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।