गर्मीमा बालबालिकालाई किन आउँछन् घमौरा र कसरी जोगिने?

रामेछाप खबर संवाददाता

२९ वैशाख, काठमाडौं ।

बढ्दै गरेको तापक्रमले तराईं लगायत काठमाडौं उपत्यकामा समेत बालबालिकामा विभिन्न स्वास्थ्य सम्बिन्ध समस्या आउने गरेका छन्। कान्ति बाल अस्पतालकै कुरा गर्ने हो भने पनि यहाँ हरेक दिन कयौं बिरामीहरु घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर आउने आइरहेका हुन्छन्। गर्मी मौसममा अन्य समयभन्दा तुलनात्मक रुपमा ब्याक्टेरियाको संक्रमणबाट हुने छालाका समस्या बढी देखिन्छन्।

किन आउँछन् यी समस्या?
गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ।

घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन्। भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ।

त्यसैगरी गर्मीमा ब्याक्टेरियाकोबाट हुने छाला सम्बन्धि संक्रमण बढी देखिन्छ। फहोहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण मुख्य कारण हुन्।

जोगिने उपाय
गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। खाशगरी चर्काे घाममा ननिस्किने र बच्चालाई सक्दो ननिकाल्ने, हल्का पातलो, खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने गर्नुपर्छ। बालबच्चालाई सक्दो शितलमा राख्ने गर्नुपर्छ। गर्मीमा पनि आगोमा सेक्ने वा घाममा राख्ने कतिले गरेका हुन्छन्। यस्तो बिलकुलै गर्नुहुँदैन।

घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा भिजाएर नियमित पुछिदिने गर्नुपर्छ। पुछेपछि त्यो भागलाई हावमा सुक्न दिने गर्नुपर्छ।

यसैगरी घाउ र खटिरा सर्ने भएकाले अन्य केटाकेटीलाई नजिक आउन नदिने गर्नुपर्छ। घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाईमा ध्यान दिने गर्नुपर्छ । यसरी ठीक भएन भने नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन जरुरी हुन्छ।
डा दिनेश सिवाकोटी