काठमाडौं ।
इजरायलको मुख्य विमानस्थालमा टर्किस एनाडोलुजेटको विमान उड्नै लाग्दा क्याप्टेनले अचानक उडान रोक्ने निर्णय गरेका छन् । सो विमानमा रहेका यात्रुहरूका मोबाइलमा धमाधम विमान दुर्घटनाका तस्बिरहरू आउन थालेपछि क्याप्टेनले विमानै नउडाउने निर्णय गरेका हुन् ।
इजरायलको उड्डयन निकायले यो घटना भएकाे बेला विमान बेन गुरिओन विमानस्थलको धावनमार्गमा गुडिरहेको बताएको छ । त्यसपछि विमानबाट चालक दल र यात्रुहरूलाई विमानबाट बाहिर निकालेर उनीहरूको लगेजको पुनः जाँच गरिएको थियो । शंकास्पद थुप्रै इजरायली युवालाई सोधपुछ गरिएकाे थियो ।
सबै कुरा स्पष्ट पारिएपछि पाँच घन्टा ढिलोगरी उक्त विमान गन्तव्य तर्फ उडेको थियो । एनाडोलुजेट बोइङ ७३७ मा १ सय ६० यात्रु सवार थिए । त्यसरी अचानक मोबाइलमा तस्बिरहरू आउन थालेकाे खबर पाएपछि क्याप्टेनले विमानलाई टर्मिनलमा फर्काएका थिए ।
हेब्रु नेट न्युज साइटका अनुसार एयर ड्रप मार्फत ती तस्बिरहरू सेयर गरिएका थिए । एयर ड्रप एउटा एप्पल सर्भिस हो, जसले प्रयोगकर्ताहरूलाई छोटो दूरीमा रहेका एउटा एप्पल उपकरणबाट अर्कोमा फाइल पठाउन मद्दत गर्दछ ।
सम्पूर्ण तस्बिरहरू आइफोनमा प्राप्त भएको बताइएको छ । त्यसरी पठाइएकामा सन् २००९ मा नेदरल्यान्डसमा दुर्घटनाग्रस्त भएको टर्किस एयरलाइन्सको विमान र सन् २०१३ मा संयुक्त राज्य अमेरिकामा दुर्टघटनाग्रस्त अर्को विमान लगायत तस्बिरहरू रहेका छन् । अत्तालिएर विमानबाट यात्रुहरू भागाभाग गर्ने क्रममा घाइते भएका एकजनालाई अस्पताल पुर्याइएको थियो ।
बीबीसीबाट ।