मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने, कसरि ?

रामेछाप खबर संवाददाता

२७ वैशाख, काठमाडौं ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् । मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सवै नागरिकले मतदान गर्ने पाउने गरि व्यवस्था गरिएको बताए ।

निर्वाचनको व्यवस्थापकीय तयारी पूरा
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले शुक्रबार हुने स्थानीय तह निर्वाचनको व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ । कार्यालयका अनुसार मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन लगायतका तयारी पुरा भएको छ ।

निर्वाचन आयोगले पठाएका सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रतर्फ प्रस्थान गरिसकेका छन् । मतदान कार्यमा खटिएका कर्मचारीले तोकिएको मतदानस्थलमा पुगेर आयोगले तोकेको ढाँचा मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण, सर्वदलीय÷सर्वपक्षीय बैठक आव्हान, मतदाता सूचना एवं सहायता कक्ष स्थापना, मतदान केन्द्रको क्षेत्र निर्धारण गरी प्रचारप्रसारमा रोक लगाउनेलगायत कार्य थाल्नेछन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सदरमुकाम र नजिकका मतदान केन्द्रमा कर्मचारी पुगिसकेको जानकारी दिनुभयो । “कतिपय पालिकाका मतदान केन्द्रमा बुधबारसम्म मतदान कार्यमा खटाइएको टोली पुगिसक्छ”, उहाँले भन्नुभयो, “स्थानीय निर्वाचन निर्देशिकाबमोजिम मतदान अधिकृतले मतदानको तयारीका कार्यको नेतृत्व गर्नेछन् । सुर्खेतमा नौ स्थानीय तहका १३८ स्थलमा २९१ मतदान केन्द्र छन् ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा प्रबन्ध मजबुत बनाइएको बताउनुभयो । “मतदाता र मतदान केन्द्रको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेका छौँ”, प्रजिअ रिजालले भन्नुभयो, “केही स्थानमा प्रचारप्रसारका क्रममा दलका कार्यकर्ताबीच छिटफुट झडप भए पनि समग्रमा शान्ति सुरक्षाको अवस्था सामान्य छ ।” प्रशासनका अनुसार सुरक्षाको दृष्टिले सुर्खेतमा २० मतदान केन्द्र अतिसंवेदनशील छन् । सुर्खेत प्रदेश राजधानी भएकाले यहाँको सीमा सुुरक्षामा पनि सजगता अपनाएको बताइएको छ ।