कठोर बन्दै साउदी सरकार : एक सातामा साढे १० हजार आप्रवासी पक्राउ, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

२६ वैशाख, काठमाडौं ।

साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीब्र पारेसँगै थप १० हजार ८४२ जना पक्राउ परेका छन् । अधिराज्यका विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने १० हजार ८४२ जना पक्राउ गरिएको त्यहाँको राहदानी महानिर्देशनालय (जवाजत) ले जनाएको छ ।

गत अप्रिल २८ देखि ४ मार्चसम्म सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लङ्घन गर्ने ६ हजार ९१६, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने करिब २ हजार ९१८ र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ८ जना रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा जम्मा ३५२ जना पक्राउ परेका थिए, जसमध्ये ५६ प्रतिशत यमनी, ३६ प्रतिशत इथियोपियाली र ८ प्रतिशत अन्य राष्ट्रका थिए भने १०३ जना राज्यको सीमा पार गरेर भाग्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ९ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुर्‍याएर देश निकाला गरिने जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैर कानुनी रूपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी रिपोर्ट गरिने बताइएको छ ।