एकै दिन यति धेरैले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

रामेछाप खबर संवाददाता

२२ वैशाख, काठमाडौं ।

बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनसम्म केही घटेको सुन बिहीबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

वैशाख १२ गतेयता सुनको मूल्य १ लाखमुनि रहँदै आएको छ । वैशाख १२ गते १ लाख २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत फागुन २५ गते सुनकाे मूल्यले १ लाख ५ हजार ५ सय रुपैयाँकाे उच्च रेकर्ड कायम गरेको थियो । बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३०५ पुगेको छ ।

यो पनि….आइपीओ ल्याउने तयारीमा रहेको अभियान लघुवित्तको यस्तो छ वित्तीय अवस्था

अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको त्रैमास भन्दा ९.५६% ले धेरै हो । गत वर्षको यस अवधिमा कम्पनी १ करोड २ लाख रुपैयाँ नाफा थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खुद ब्याज आम्दानी ८२.७६% ले बढाएर ७ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, कम्पनीले सञ्चालन नाफा पनि १ करोड १९ लाख रुपैयाँबाट १ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । यसको खराब कर्जा भने ०.४५% बाट बढेर ३.३४% भएको छ । हाल यसको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा १ करोड ९२ लाख रुपैयाँ छ । चैतसम्ममा २९ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अभियान लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।