टिकटक लाइभलाई लिएर राजेश हमालले फ्यानलाई किन दिए यस्तो प्रष्टीकरण ?

रामेछाप खबर संवाददाता

२१ वैशाख, काठमाडौं ।

केही सातादेखि ‘राजेश हमाल अफिसियल’ ह्यान्डलको टिकटक एकाउण्टबाट दिनहुँजसो लाइभ पोस्ट आइरहेको छ । मध्यरातसम्म चल्ने उक्त लाइभ स्ट्रिमिङमा राजेश हमाल र उनकी पत्नी मधु आउँछन् र दर्शकसँग अन्तक्रिया गर्छन् । उक्त लाइभमा फ्यानहरुले गिफ्ट पनि पठाइरहेका हुन्छन् ।

हमाल दम्पतीलाई मध्यरातसम्मै टिकटक लाइभमा देखेपछि कतिपयले आलोचना पनि गरिरहेका छन् । पैसा माग्न रातभर लाइभमा बसेको भन्दै कतिपयले हमालले त्यसो गर्नु अशोभनीय भएको पनि बताइरहेका छन् ।

हमालका फ्यानहरुले ‘महानायक’ रातभर लाइभमा बस्नु राम्रो नभएको भन्दै त्यसो नगर्न सुझाएका छन् । उक्त खातामा राजेश हमालका अन्य भिडियो पनि पोस्ट हुने गरेको छ । तर अनलाइनखबरसँग कुरा गर्दै हमालले टिकटकमा आफ्नो अफिसियल एकाउन्ट नभएको र उक्त लाइभ फेक भएको बताए । हमालले मध्यरातसम्म आफ्नो पुरानो भिडियोलाई लाइभ गराइएकोप्रति आपत्ति पनि व्यक्त गरे ।

‘म लाइभमा बसेको होइन । मेरो एकाउन्ट छँदा पनि छैन । कसले गरेको हो, त्यसप्रति मेरो आपत्ति छ,’ उनले भने, ‘त्यसो नगरिदिन आग्रह गर्छु ।’ टिकटकमा आफ्नो रुचि नभएको पनि हमालले बताएका छन् । तर फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युवमा चाहिं हमालको अफिसियल एकाउण्टहरु सञ्चालनमा छन् ।
अनलाइनखबरबाट