विवाहको ११ दिनमै किन अमेरिका उडिन् केकी ?

रामेछाप खबर संवाददाता

१९ वैशाख, काठमाडौं ।

हरेक जोडीहरू विवाहपछि बढीभन्दा बढी समय एकसाथ बिताउन चाहन्छन् । त्यही भएर हनिमुनको प्रचलन चलेको हो । तर, सबैले यस्तो समय निकाल्न सक्दैनन् ।
नायिका केकी अधिकारीको हकमा त्यही भएको छ । उनी हनिमुन मनाउन नभ्याईकन श्रीमानसँग केही दिनका लागि छुट्टिनु परेको छ ।

विवाहको ११ दिनपछि उनी एउटा कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी छन् । नव विवाहित श्रीमानलाई छोडेर मुटुमाथि ढुंगा राखी केकी अमेरिका लागेकी हुन् ।

अमेरिकामा आयोजना हुन गइरहेको मेरो डान्स कप युएसए र मेरो भ्वाइस कप यूएसका लागि अमेरिका हिँडेकी हुन् केकी । यो यात्रामा श्रीमानलाई मिस गर्ने भए पनि केकीले एक्लो महसुस भने गर्नुपर्ने छैन । किनकि उनको साथमा बेस्ट फ्रेन्ड रिमा विश्वकर्मा पनि छिन् ।

अमेरिका उड्ने क्रममा केकीलाई श्रीमान् रोहित तिवारीले त्रिभुवन विमानस्थल पुर्‍याएका थिए । गलामा मंगलसुत्र र आँखमा कालो चस्मा लगाएकी केकी निकै खुलेकी थिइन् । उनले अमेरिकाबाट फर्केपछि आफ्नो विवाहको कथा मिडियालाई सेयर गर्ने बताएकी छन् ।

केकीले गत वैशाख ९ गते प्रेमी रोहितसँग सुटुक्क बिहे गरेकी थिइन् । बिहेमा रिमाबाहेक अरू सेलिब्रिटीको उपस्थिति थिएन । केकी रोहितको प्रेम सम्बन्ध बारे नै धेरै कलाकार जानकार थिएनन् । बिहेको भोलिपल्टैबाट केकी विश्रामबिना काममा फर्केकी थिइन् । उनले हनिमुनलाई भन्दा आफ्नो करिअरलाई नै प्राथमिकतामा राखिरहेकी छन् ।