‘केजिएफ २’ ले तोड्यो बाहुबलीको लाइफटाइम रेकर्ड

रामेछाप खबर संवाददाता

८ वैशाख, काठमाडौं ।

दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ सफलताका साथ बक्स अफिसमा प्रदर्शन भइरहेको छ। फिल्मले बक्स अफिसमा नयाँ- नयाँ किर्तिमान राखिरहेको छ।

भारतीय अखरबार हिन्दुस्तान टाइम्मका अनुसार फिल्मले छैटौं दिनसम्मको कमाइबाट सन् २०१५ मा प्रदर्शन भएको फिल्म ‘बाहुबली’ को लाइफटाइम रेकर्ड तोडेका छ। केजिएफ २ ले ६ दिनमा विश्वभरबाट ६७६ करोड ग्रस भारतीय रुपैयाँ कमाई गरेको छ भने बाहुबलीले लाइफटाइम ६५९ करोड ग्रस भारतीय रुपैयाँ कमाई गरेको थियो।

यो फिल्मले अर्काे हप्ता हजार करोड क्लबमा समावेश हुने भारतीय विश्लेषकको अनुमान छ। सय करोड बजेटमा बनेको फिल्म तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भइरहेको छ।

केजिएफको हिन्दी संस्करणले पनि हरेक दिन नयाँ रेकर्ड राखिरहेको छ। व्यापार विश्लेषक तरण आलर्शका अनुसार हिन्दी संस्करणले मात्रै सात दिनमा २५५ करोड ५ लाख रुपैयाँ कमाएको छ।

फिल्मले पहिलो दिन ५३ करोड ९५ लाख, दोस्रो दिन ४६ करोड ७९ लाख, तेस्रो दिन ४२ करोड ९० लाख, चौथो दिन ५० करोड ३५ लाख, पाँचौ दिन २५ करोड ५७ लाख र छैटौं दिनमा १९ करोड १४ लाख भारतीय रुपैयाँ कमाएको छ। सातौ दिन १६ करोड ३५ लाख भारतीय रुपैयाँ कमाउदै छोटो समयमा २५० करोड कमाउने फिल्म बनेको छ।

‘केजिएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ’ को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्। प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।