अभिनेत्री सुष्मा कार्कीले किन बेचिन आफ्नो फेसबुक पेज ?

रामेछाप खबर संवाददाता

२४ चैत, काठमाडौं ।

अभिनेत्री सुष्मा कार्कीले ९ लाख बढी लाइक भएको फेसबुक पेज बिक्री गरेकी छन्। उनको फेसबुक पेज भेरिफाइड समेत भइसकेको छ। उनको फेसबुक पेजको नाम र युजरनेम परिवर्तन भइसक्दा पनि भेरिफाइड मार्क हटेको छैन। उनको पेजबाट एक अनलाइन मिडियाले समाचार पोस्ट गरिरहेको छ। केहि समयदेखि सुष्मा सामाजिक सञ्जालबाट टाढिएकी छन्। उनले नकारात्मक प्रतिक्रिया धेरै आउन थालेपछि सामाजिक सञ्जालबाट टाढिएको प्रतिक्रिया दिन थालेकी छन्।

‘मेरो एउटा साथी छ’ फिल्मबाट डेब्यू गरेकी सुष्मा आइटम नृत्य गरेर चर्चामा आएकी थिइन्। विभिन्न कुरामा अभिव्यक्ति दिने सुष्मा पछिल्लो समय गसिपको पात्र बन्दै आएकी छन्। उनको अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गाली आउन थालेपछि फेसबुक पेज बिक्री गरेको बुझिन्छ। सुष्माले भेरिफाइड इन्स्टाग्राम अकाउन्टबाट पनि सबै तस्बिरहरू हटाएकी छन्। सेतोपाटी

यो पनि….नम्रता श्रेष्ठ भन्छिन्-विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ

सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके। डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको फिल्मले सहर केन्द्रीत हलमा सन्तोषजनक नै व्यापार गर्यो।

विशेषतः नेपालभर डिजिटल प्रविधि नभएकाले पनि धेरै स्टेसनमा फिल्म प्रदर्शन भएन। तर, विनय र नम्रताको राम्रै चर्चा भयो। उनीहरूसँगै कार्मको पनि प्रशंसा भयो। तर, त्यसपछि यो जोडीलाई दर्शकले देख्न पाएका छैनन्। आउँदो वर्षसम्म विनय र नम्रतालाई भने ‘ग्रहण’ फिल्ममा दर्शकले देख्न पाउनेछन्।

‘हामीले किन काम गरेनौ भन्दा पनि साइत जुरेन। हामीलाई लिएर केही फिल्म अफर भएका थिए, तर त्यो विविध कारणले बनेनन्,’ नम्रताले भनिन्, ‘म विनय दाईसँग फिल्म गर्दैछु तर कर्मासँग पनि फिल्म भएको छैन। विनयसँग यसपटक कथा मिलेको छ । मैले आफ्नो क्यारेक्टरको बारेमा धेरै खुलाउन मिल्दैन। मेरो क्यारेक्टर एरियल योगा इन्स्ट्रक्टरको हो।’

विनय फिल्ममा कलाकारसँगै कार्यकारी निर्माता पनि छन्। ‘राजीवजी (निर्देशक)को कुरा सुनेर म पनि फिल्ममा अनुबन्धित भएको हुँ। उहाँ नयाँ हुनुहुन्छ केही गर्छु भनेर आउनु भएको छ । हामीले सघाउनुपर्छ,’ विनयले भने। उनले फिल्ममा आफू नम्रताको लभ इन्ट्रेस्ट भएको बताए। ‘राजीवजीले कथा लेख्दा नै मलाई र नम्रतालाई हेरेर कथा लेख्नु भएको रैछ । र, हामी पनि मन परेर जोडिएका हौँ,’ विनयले भने।

फिल्ममा सारुक ताम्राकार पनि छन् । उनले नम्रताको ब्वाईफ्रेन्डको क्यारेक्टर निर्वाह गर्नेछन्। ‘म प्रोटागोनिस्टको ब्वाइफ्रेन्डको क्यारेक्टरमा छु। उहाँहरूसँग प्रोजेक्टमा जोडिन पाउँदा निकै उत्साहित छु । प्रोजेक्ट प्लानिङमै पनि मैले राम्रो उहाँहरूबाट सिकिरहेको छु,’ उनले भने।

राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा यसै साता मात्र घोषणा गरिएको थियो। ‘फिल्मको कथा सिक्किमसँग जोडिएकाले नै सिक्किममै पुगेर घोषणा गरेका हौँ । फिल्मका लागि सिक्किमकै एउटा लिड क्यारेक्टर खोजिरहेका छौँ,’ राजीवले भने। अमेरिकाबाट फिल्मसम्बन्धी अध्यन गरेर नेपाल फर्किएका राजीवले फिल्मलाई स्तरीय बनाउन र कथा सुहाउँदो पात्र छनोट गर्दा विनय, नम्रता र सारुक परेको बताए।

थ्रिलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने भएको छ। भारतको सिक्किम र नेपालमा छायांकन हुने फिल्मले दुवैै देशको पर्यटनमा सघाउने विश्वास उनको छ। ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने भएका छन्। फिल्ममा हरि हुमागाईंको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन, विशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनप्ले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको छ।