फिल्म ‘आरआरआर’ ले तहल्का मच्चाइरहेको बेला निर्देशकसंग किन रिसाइन् आलिया ?

रामेछाप खबर संवाददाता

१५ चैत, काठमाडौं ।

बलिउड अभिनेत्री आलिया भट्टका बारेमा एउटा आश्चर्यजनक समाचार सार्वजनिक भएको छ । भनिन्छ, आलिया भट्ट हाल सफलतापूवर्क प्रदर्शन भैरहेको फिल्म ‘आरआरआर’ का निर्देशक एसएस राजामौलीसंग रिसाएकी छिन् । रिसै–रिसमा आलियाले आरआरआरसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु समेत आफ्नो इस्न्टा अकाउन्टबाट डिलीट गरिदिएकी छिन् । यसअघि उनले राजामौलीलाई इन्स्टाग्राममा अनफलो समेत गरेको बताइएको थियो, तर अहिले पुन: उनले राजामौलीलाई फलो गरेको देखिन्छ ।

किन रिसाइन् आलिया ?

समाचारमा जनाइए अनुसार आलिया भट्ट निर्देशक राजामौलीसंगै रुष्ट भएकी हुन् । आरआरआरको फाइनल कटमा दिइएको कम स्क्रिन स्पेशले आलियालाई दु:खी बनाएको हो । आरआआरमा आफ्नो छोटो भूमिका देखेपछि आलिया दु:खी भएकी हुन् । त्यसैले उनले इन्स्टाग्राममा यो फिल्मसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु डिलीट गरेकी हुन् ।

आरआरआरमा आलियाको भूमिकालाई छोट्याइएको छ । उनले निर्वाह गरेको सीताको भूमिका खासै प्रभावकारी मानिएको छैन । आलियाको उपस्थिति नै मजबुत छैन ।
उनलाई अजय देवगणलाई जति पनि स्थान दिइएको छैन । यसका साथै आलिया आरआरआरका पछिल्ला प्रचारात्मक कार्यक्रममा पनि सहभागि भइनन् ।

यो पनि….आरआरआर बक्स अफिस कलेक्शन : तीन दिनमै कमायो ५ सय करोड भारू

नयाँ दिल्ली / सन् १९२० को दशकमा आधारित कथा बेकेको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। आरआरआर फिल्ममा अल्लुरी सीताराम राजु र कुमारम भीमको भूमिका अभिनेता राम चरण र एनटी रामाराव जूनियरले निभाएका छन्।

एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट तीन दिनमा पाँच सय करोड भारू कमाइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तीन दिनमा विश्वभरबाट पाँच सय करोड कमाउँदै फिल्मले नयाँ रेकर्ड कायम गरेको हो। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै दुई सय करोड भारूभन्दा बढीको व्यापार गरेको थियो। भारतका विभिन्न भाषामा बनेको यो फिल्मले हिन्दी संस्करणबाट पनि राम्रो कमाइ गरेको छ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, हिन्दी संस्करणमा आरआरआरले पहिलो दिन १९ करोड भारू कमाएको थियो। पछि यसको कमाइ बढ्दै हालसम्म साढे ९१ करोड कमाइसकेको छ। ‘बाहुबली’ बाट राम्रो चर्चा कमाएका निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआर हालसम्मकै महँगो बलिउड फिल्म हो। निर्माणमा मात्र साढे चर सय करोड भारू खर्चिएको छ।

चर्चित दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा आलिया भट्टको पनि छोटो तर प्रमुख भूमिका छ। यसबाहेक अजय देवगनलाई पनि फिल्ममा देख्न सकिन्छ। फिल्मले अहिले संसारभरका दर्शकको माया पाउनुको साथै समीक्षकबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको छ। फिल्मले भारतको सन् १९२० को पृष्ठभूमिमा ब्रिटिस शासनविरूद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिसहरूले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस सिपाही कसरी एकअर्काका साथी बन्छन् र ब्रिटिस शासनविरूद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।