दुखद खबर : ‘आरआरआर’ हेर्न पुगेका युवकको फिल्म हलमै भयो मृत्यु

रामेछाप खबर संवाददाता

१२ चैत, काठमाडौं ।

एस एस राजामौलीको बहुप्रतीक्षित फिल्म थियो- आरआरआर। हिजोबाट प्रदर्शनमा पनि आइसकेको यस फिल्म हेर्न दर्शकहरू फिल्म हलमा झुम्मिएको झुम्मिएकै छन्।
भारतसहित नेपालमा पनि फिल्म हलहरू ‘हाउसफुल’ भएर चलेका छन्। तर हिजो भारतमा भने फिल्म हेर्ने क्रममा अप्रिय घटना भयो। फिल्म हेरिरहेका युवकको मृत्यु भयो।

आरआरआरको ‘फर्स्ट डे फर्स्ट शो’ हेर्न पुगेका थिए ३० वर्षीय ओबुलेसु। भारतको आन्ध्रप्रदेश राज्यको अनन्तपुरमा रहेको एक फिल्म हलमा उनी फिल्म हेर्दै थिए। तर धेरै समयसम्म पनि उनको शरीरमा कुनै हलचल थिएन। फिल्ममा एक्सन सिन आउँदा पनि उनी शान्त थिए, कमेडी सिनमा पनि शान्त। यो देखेर उनीसँगै गएका साथीले उनलाई हत्त न पत्त अस्पताल लिएर गए। त्यहाँ डाक्टरले ओबुलेसुलाई मृत घोषित गरे। उनको मृत्युको कारण हृदयघात मानिएको छ। – उकेरा

थप समाचार :टीजरमा ‘चिसो मान्छे’: यस्ता छन् प्रतिक्रिया

निर्देशक दीपेन्द्र के खनालको वहुप्रतिक्षित फिल्म चिसो मान्छेको टीजर शुक्रवार सार्वजनिक भएको छ । फिल्मको एक मिनेट १५ सेकेण्डको टीजरमा अभिनेत्री स्वस्तिमा खड्काको कर्णाली लूक्सले प्रशंसा पाएको छ । यो फिल्ममा स्वस्तिमा र अर्पण थापाको मुख्य भूमिका रहेको छ ।

दीपेन्द्र के खनालको लेखन तथा छायांकनमा तयार भएको ‘चिसो मान्छे’ को टीजरमा अभिनेत्री खड्कालाई कर्णालीको ग्रामिण महिलाहरुले लगाउने भेषभूषामा प्रस्तुत गरिएको छ । टीजरमा अभिनेत्री खड्कासंगै अर्पण थापा र देशभक्त खनाललाई पनि समेटिएको छ ।

कर्णाली क्षेत्रकै कथा समावेश गरिएको यो फिल्म डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् ।
आगामी असार ३ गते प्रदर्शन हुने ‘चिसो मान्छे’ मा स्वस्तिमा, अर्पण र देशभक्तसंगै आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी आदि कलाकराले पनि अभिनय गरेका छन् ।