प्रधानमन्त्री देउवाले चितवनका काँग्रेसहरुलाई किन दिए यस्तो चेतावनी ?

रामेछाप खबर संवाददाता

११ चैत, काठमाडौं ।

फाईल तस्विर।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनका काँग्रेसलाई चेतावनी दिएका छन् । उनले गठबन्धनबिना काँग्रेसले चुनाव नजित्ने भन्दै काँग्रेसहरुलाई चेतावनी दिएका हुन् । आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा उनी आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

आक्रोशित हुँदै उनले भने, ‘चितवनमा कहिले जित्या छ ? गठबन्धन नगर्दा चितवन जिताउने हिम्मत छ ?’ उनले थपे, ‘जहिल्यै हारेको हार्‍यै ? मैले थाहा पाएदेखि चुनाव जित्नु छैन, अनि गठबन्धन नगर्ने भन्ने ?’

यदी गठबन्धन नगर्ने हो भने फेरि हार्छ चितवन !’ त्यस्तै उनले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन चुनौतीसमेत दिएका छन् ।

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ’ भन्नुभयो ।

मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताउनुभयो । ‘वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ’ भन्दै उहाँले औचित्य र आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुने बताउनुभयो । कांग्रेस कार्यसमितिको बैठक प्रारम्भ भएकाले यसले स्थानीय निर्वाचनका सम्बन्धमा छलफल भएर मुलुकलाई एकताबद्ध ढङ्गले आगाडि बढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिनुभयो ।

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले नेताहरूले आफ्ना विचार राख्न स्वतन्त्र रहेको बताउँदै मन्त्री कार्कीले केन्द्रीय समितिले गर्ने निर्णयलाई सबैले मान्ने पराम्परा विसं २००७ देखि चलिआएको स्मरण गर्नुभयो । उहाँले पार्टीको १४ औँ महाधिवेशनपछि सम्पूर्ण नेता तथा कार्यकर्ताको चाहना नेकांलाई मुलुकको सबैभन्दा ठूलो, शाक्तिशाली पार्टी निर्माण गर्ने तथा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको नेतृत्व लिने उद्देश्यले कार्यकर्ता अहोरात्र मेहनत गरिरहेको बताउनुभयो । मन्त्री मन्त्रीमण्डल विस्तार सम्बन्धमा कुनै जानकारी नरहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले चीनका विदेशमन्त्रीलाई नेपालले हार्दिकताका साथ स्वागत गर्ने विश्वास दिलाउँदै मुलुकको विकासका निम्ती छिमेकी र मित्र राष्ट्र तथा दातृ निकायसँग राष्ट्रिय हितका आधारमा छलफल हुने बताउनुभयो ।