पेट्रोलियम पदार्थको मुल्यवृद्धि, अब कति पुग्यो ?

रामेछाप खबर संवाददाता

११ चैत, काठमाडौं ।

पछिल्लो समय भारतमा पेट्रोल र डिजेलको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपालमा पनि परिरहेको छ । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन् । गत चार दिनमा पेट्रोल र डिजेलको मूल्य २.४० रूपैयाँले बढेको छ ।

मूल्य बढेपछि राजधानी दिल्लीमा पेट्रोल ९७.८१ भारु र डिजेल ८९.०१ प्रतिलिटर पुगेको छ । मुम्बईमा पेट्रोल ८४ पैसाले बढेको छ । साथै नयाँ मूल्य प्रतिलिटर ११२.५१ रुपैयाँ भएको छ । भारतका प्रत्येक राज्यमा स्थानीय करको दर फरक फरक भएका कारण त्यहाँ पेट्रोलियम पदार्थको मूल्य राज्यअनुसार छुट्टाछुटै हुन्छ ।

मुडिज इन्भेष्टर्स सर्भिसले बिहीबारको एक रिपोर्टमा भनिएको छ, ‘भारतका प्रमुख तेल कम्पनीहरु आइओसी, बिपिसिएल र एचपिसिएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न दिएका थिएनन् ।

जसका कारण कम्पनीहरुले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा बेहोरिरहेका छन् ।’पछिल्लो समय भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा नेपालमा पनि मूल्य बढ्दै गएको छ । त्यसकारण शुक्रवार भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि नेपाल आयल निगमले मूल्य बढाउन सक्ने आँकलन गरिएको छ ।

चामलको मूल्य बढेको छैन : अध्यक्ष गुप्ता

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका हुन् ।

उनले चामलको मूल्य एक महिना अगाडिको मूल्य अहिले पनि त्यही रहेको बताए । उनले व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गरे । अध्यक्ष गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएको बताए । तेल विदेशबाट आयात गर्नु पर्ने भएकाले मूल्य वृद्धिको मार खेप्नु परेको बताए ।