सलमान खान र मन्त्री आलेबीच भर्चुअल संवाद, के–के कुराकानी भयो ?

रामेछाप खबर संवाददाता

९ चैत, काठमाडौं ।

बलिउडका सुपरस्टार सलमान खान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच संवाद भएको छ । आगामी जेठ १४ आयोजना हुन लागेको ‘दबंग टुर’का बारेमा सुपरस्टार खान र मन्त्री आलेबीच भर्चुअल संवाद भएको हो ।

संवादका क्रममा मन्त्री आलेले सुपरस्टार खानलाई ब्रेकफास्टका लागि सगरमाथा लोकप्रिय रहेको बताउँदै माउन्टेन फ्लाइटमार्फत् हवाइ सयर गराउने प्रस्ताव गरेका थिए । जानकारी अनुसार मन्त्री आलेले कोरोनापछि नेपाल पूर्ण रुपमा खुला भइसकेको र पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै सुपरस्टार खानलाई सगरमाथा चढ्नका लागि प्रस्ताव समेत गरेका थिए ।

जवाफमा सुपरस्टार खानले धन्यवाद दिदै आफू पनि नेपालमा पहिलोपटक फिल्म ‘बुलन्द’को सुटिङका क्रममा आएको स्मरण गराएका थिए । उक्त फिल्म दर्शकमाझ रिलिज हुननसकेको पनि उनले बताए । त्यस्तै ‘दबंग टुर’ पनि विभिन्न कारणले स्थगित हुन पुग्दा आफू दुखित् भएको सलमानले बताएका थिए ।

यसैबीच मन्त्री आलेले सुपरस्टार खानलाई नेपालमा आएर फिल्मको सुटिङ गर्नसमेत आग्रह गरेका थिए । जवाफमा सुपरस्टार खानले फिल्मको माग र कथाबस्तु अनुकूल मिलाएर नेपाल आउने बताएका थिए । यसका अतिरिक्त सुपरस्टार सलमान खानले आफ्नो आगामी फिल्म ‘टाइगर–३’को बारेमा जानकारी समेत गराएका थिए ।

सलमान खानको नेपालमा हुने प्रस्तुति हेर्न ५ देखि २५ हजारसम्म शुल्क लाग्ने

भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदै छन् । ‘दशंग टुर’मार्फत उनी नेपाल आउन लागेका हुन् । त्यसको व्यवस्थापन ओडिसी इन्टरटेनमेन्टले गर्दै आएका छन् ।

दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन् । उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन् ।

उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।

उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो ।

सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् । उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन् । नेपालमा आयोजित कार्यक्रममा पनि दर्जनभन्दा बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ ।