एमसिसीले भन्यो : ३५ दिनभित्र जग्गा खाली गर्नु

रामेछाप खबर संवाददाता

८ चैत, काठमाडौं ।

एमसिसी परियोजना कार्यान्वयनका लागि एमसिए नेपालले जग्गा खाली गर्न सूचना प्रकाशित गरेको छ। नुवाकोटको रातमाटेमा ४०० केभीको सबस्टेसन निर्माणका लागि अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्न सर्वसाधारणलाई आह्वान गरेको हो। रातमाटेमा एमसिए नेपालले सवस्टेसन निर्माणका लागि झण्डै चार सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ।

एमसिए नेपालले अधिग्रहणबाट पैसा बुझेकाहरुले तोकिको मितिभित्र खाली गरिदिन भनेको छ।

एमसिएले भनेको छ, ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सबस्टेसन निर्माणका लागि तारवार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरु बुजिसकेका महानुभावहरुले अधिग्रहण गरिएका घरजग्गाहरू यो सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ।’

संसदबाट फागुन १६ गते एमसिसी अनुमोदन भएसँगै पाँच वर्षे परियोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ।

यो पनि….चक्रपथ निर्माणसँगै मालिकाको सबै वडा सडक सञ्जालसँग जोडियो

गुल्मीको मालिका गाउँपालिकाले सबै वडालाई सडक सञ्जालसँग जोड्न चक्रपथ निर्माण गरेको छ । प्रत्येक वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्ने योजना अनुरुप ७७.२ किलोमिटर चक्रपथ निर्माण गरिएको हो । पालिकाको गौरवको योजनाका रुपमा यसलाई लिएको गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले जानकारी दिनुभयो ।

“आफूहरु निर्वाचित भएको पाँच वर्षभित्र गुल्मीको विकट भनेर चिनिने मालिकाका सबै वडामा सडकको पहुँच पु¥याएको छु”, उहाँले भन्नुभयो, “पालिकामा पूँजीगत बजेट निकै कम हुँदा पनि क्रमागतरुपमा प्रत्येक वर्ष बजेट विनियोजना गरेर मालिकामा चक्रपथ निर्माण गरेको छु ।”

कूल रु चार करोडको लागतमा सो चक्रपथ निर्माण भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको वडा नं ४ को अर्खबाङ हुँदै तिरतिरे, सिमलटारी, अर्जै बोम, नेटा, लिलिङ, भीमगिठे, पाटाखर्क, दर्लिङ, गङगरेदेखि पुनः अर्खाबाङसम्म चक्रपथले जोडेको उहाँको भनाइ छ । चक्रपथ बाहेक मदनभण्डारी सडक, सालझण्डी–ढोरपाटन सडक र मध्यपहाडी सडकसँग जोडिएका सडकको स्तरवृद्धि र ग्राभेलको काम भइरहेकाले यहाँ बाह्रै महिना सहजरुपमा यातायात सञ्चालन हुने उहाँले बताउनुभयो