अन्तत : जापानले हटायो कोभिडविरुद्धका सबै प्रतिबन्धहरू

रामेछाप खबर संवाददाता

८ चैत, काठमाडौं ।

जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धका प्रतिबन्धहरूलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको छ। जापानमा पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध अपनाउनुपर्ने मापदण्डका रूपमा प्रतिबन्धहरू लगाइएको थियो।

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरूलाई हटाएको जनाएको छ। यसरी प्रतिबन्धहरू हटाइएका प्रिफेक्चरहरूमा टोकियो र ओसाका पनि रहेका छन्। यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरू लगाइएको थियो। आज मंगलबारदेखि यहाँका अधिकारीहरूले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाइएको जनाएका छन्।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटेल–रेस्टुरेन्टहरू सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो। तर, अहिले ती सबै प्रतिबन्ध हटाइएको छ। यहाँ अब नागरिकहरू ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरू सञ्चालन गर्न पाउने भएका छन्।

बाँकी प्रिफेक्चरहरूमा भने कोभिड– १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ। आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरू हटाउन सकिने सरकारले जनाएको छ

यो पनि ……एनआरएनएको १० औँ महाधिवेशन चैत १० र ११ गते काठमाण्डाैमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाण्डौमा हुने भएको छ । आज मङ्गलवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत महाधिवेशन गर्ने एनआरएनएले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैरआवासीय एकताबद्ध रहने दाबी गर्नुभयो । उहाँले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका निम्ति प्रभावकारी भूमिका खेल्ने पनि बताउनुभयो । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।

त्यस्तै अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा सहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताउनुभयो । उहाँले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरू मिलेर संस्थालाई अघि बढाउने बताउनुभयो ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताउनुभयो । उहाँले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष पदकी प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताउनुभयो ।