आज यी स्थानमा मेघगर्जन, हावाहुरी/चट्याङसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

रामेछाप खबर संवाददाता

८ चैत, काठमाडौं ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भू–भागमा सामान्यतया सफा रहने भएको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव छ डग्री र अधिकतम तापक्रम २९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताउनुभयो ।

उहाँका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नुहुनेछ । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य हुनुहुन्छ । जसमा नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना हुनुहुन्छ ।