कुन कुन मुलुकमा जाँदा पूर्ण खोप लगाएको अवस्थामा पीसीआर परीक्षण गर्नु पर्दैन ?

रामेछाप खबर संवाददाता

८ चैत, काठमाडौं ।

नेपाल सरकारले विदेशबाट नेपाल आउने यात्रुको हकमा यात्रा सहजीकरण गर्न अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाएको छ । यात्रुले खोप कार्ड वा त्यो नभए ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिर्पोट बोकेर नेपाल आउन सक्छन् ।

तर, नेपालबाट जाने यात्रुले भने कतिपय मुलुकमा अझै पनि कोभिड-१९ विरुद्धको प्रोटोकल पालना गर्नुपर्छ । नेपाल एयरलाइन्सले आफ्नो उडान भएका र नेपालीले यात्रा गर्ने केही मुलुकमा कस्तो प्रोटोकल कायम छ भनि सूचना सार्वजनिक गरेको छ । नेपाल एयरलाइन्सका अनुसार भारत, दुबई (यूएईए), बंगलादेश, कतार, साउदी अरेबियासहितका मुलुकमा पूर्ण खोप लगाएको अवस्थामा पीसीआर परीक्षण आवश्यक पर्दैन ।

कतारमा भने दोस्रो डोज लगाएको १४ दिन बुस्टर डोज लगाएको ७ दिन पूरा भएको यात्रुले प्रवेश पाउँछन् । खोप कार्ड ९ महिनाका लागि मान्य हुने कतारको नियम छ । नयाँ कामदारको हकमा भने पूर्ण खोप लगाएको भए पनि १ दिन होटेल क्वारेन्टिन र पीसीआर परीक्षण रिर्पोट भने अनिवार्य रहेको नेपाल एयरलाइन्सले जानकारी गराएको छ । कुन मुलुकमा कस्तो प्रावधान छ भन्नेबारे सम्बन्धित वायुसेवा कम्पनीले आफ्ना यात्रुलाई अग्रिम जानकारी गराउनु पर्ने नियम भने सरकारले यसअघि नै तोकेको छ ।

यो पनि…इजरायलमा जारी कर्मचारी युनियनको आन्दोलनले नेपालीको भिसा रोकियो

इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण नेपालबाट थप कामदार जान रोकिएका छन् । नेपाल र इजरायलबीच सरकारी स्तरमा (जीटुजी ) हस्ताक्षर भएको ‘इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउने’ सम्बन्धी सम्झौता अनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनौट गरेका १ हजारभन्दा बढी नेपालीहरुमध्ये हालसम्म २९७ जना इजरायल पुगिसकेका छन्।

तर अन्यको सम्झौता हस्ताक्षर, भिसा, पूर्व प्रस्थान अभिमुखीकरण लगायतका कामहरू भइरहेको समयमा इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण भिसाको काम रोकिँदा केही समययता नेपालीहरू इजरायल आउन नपाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

छनौट भएर इजरायल आउने तयारीमा रहेका तथा अन्य सरोकारवालाहरूमा निरन्तर चासो तथा चिन्ता बढिरहेकोले कामदार ल्याउने प्रक्रिया रोकिएको सम्बन्धमा स्पष्ट पार्ने प्रयास गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको अगुवाइमा भइरहेको यस आन्दोलन अवधिभर सरकारी प्रक्रियाहरू अगाडि नबढाउन तथा महत्त्वपूर्ण भ्रमणहरू नगरिदिन आन्दोलनरत कर्मचारी युनियनबाट अपिल भएको तत्काल इजरायल आउन रोकिएको जनाएको छ ।

भिसा प्रक्रिया छिट्टै सुचारु हुने भन्दै केही समय धैर्य गर्न नेपालबाट इजरायल आउने तयारीमा रहेका नेपाली कामदारहरूलाई दूतावासले आग्रह गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।