प्रचण्डले भने, ‘मन्त्रीहरु हेरफेरको सम्भावना छ’

रामेछाप खबर संवाददाता

८ चैत, जनकपुरधाम ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’
उनले अघि भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’

प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको छु भनेकाले माओवादीले सहयोग गरेको उनको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमति पनि हुनुहुन्छ ।’

उनका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुसँग आफ्नो कुराकानी भइरहेको जानकारी प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलहरुलाई गराएका छन् । तर लोसपालाई पनि गठबन्धन र सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नभएको उनले बताए ।

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् ।

कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यसपटक थप चार नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले मङ्गोल नेशनल अर्गनाइजेसन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टीलगायत थपिएको बताउनुभयो । कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो । निर्वाचन गराउन जिल्लामा छ हजार ६०० कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उहाँले बताउनुभयो ।्

कार्यालयले निर्वाचन आयोगद्वारा निर्धारित मापदण्डअनुसारको जनशक्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट काजमा झिकाइ निर्वाचनसम्बन्धी काममा खटाउने भएको छ । सरकारी कार्यालयबाट आएको विवरणको आधारमा जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक कर्मचारीलाई कार्यालयमा काजमा ल्याई निर्वाचन प्रक्रियामा खटाइने उहाँको भनाइ छ ।