अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दै

रामेछाप खबर संवाददाता

८ चैत, काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् । एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन् ।

यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिश्माले केही समय काम गरिन् । तर, विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लाग्नुभएको छ । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।

सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ ।