मलेसिया रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम सुरु

रामेछाप खबर संवाददाता

७ चैत, काठमाडौं ।

कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम सुरु भएको छ। वैदेशिक रोजगार कार्यालय ताहाचलले गत मङ्गलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो।

अहिलेसम्म ४ सयभन्दा बढीको माग स्वीकृति भइसकेको र ६ सयभन्दा बढी स्वीकृतिको लाइनमा रहेको कार्यालयले जनाएको छ। वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रुत गतिमा भइरहेको कार्यालयले जनाएको छ। मलेसियामा रोजगारीका लागि विशेषगरी निर्माण क्षेत्रका कामदार, सुरक्षा गार्ड र उत्पादन क्षेत्रमा कामदारको माग आउने गरेको छ।

मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा

मलेसिया सरकारले आप्रवासी कामदार लगायत सम्पूर्ण निजी क्षेत्रमा काम गर्ने कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट बनाउने घोषणा गरेका छन् ।

मलेसियामा न्युनतम तलब बढेसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकहरु लगायत आप्रवासी कामदारहरुलाई पनि फाइदा पुग्ने भएको छ ।

हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब चार लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन् । पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेपनि कार्यनयन हुनेमा अधिकांश कामदारहरुमा शंका भने रहेको छ । यसअघि पनि सन् २०२० मा मलेसियामा नीजी क्षेत्रका कामदारहरुको न्यूनतम तलब १२ सय रिंगेट उपलब्ध गराउने सरकारले निर्णय गरेपनि अधिकांश कम्पनीहरुले यसलाई कार्यान्वयन गर्न बर्सौं लगाएका थिए ।

यसरी सरकारले तोकेबमोजिम न्युनतम पारिश्रमिक उपलब्ध नगराउनेहरुमा सेक्युरेटी कम्पनीहरु रहेको सेक्युरेटी क्षेत्रमा कार्यरत नेपाली श्रमिक हरुको गुनासो रहेकोे थियो ।

हाल मलेसियामा न्यूनतम पारिश्रमिक १२ सय रिंगेट छ । यो व्यवस्था १ फेब्रुअरी, २०२० मा तय गरिएको थियो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट बनाउने घोषणासँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने भएका छन् ।