तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी, सुरक्षा व्यवस्था कडा

रामेछाप खबर संवाददाता

७ चैत, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र तथा पश्चिममा चिसाङ खोला क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । लेटाङ–५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि सो क्षेत्रमा तनाब उत्पन्न भएको छ ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भिर घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि लेटाङमा निषेधाज्ञा जारी गरिएको हो ।

यो पनि…रेडपाण्डाको छालासहित चार पक्राउ

प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताउनुभयो ।

यसैबीच प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–९ का प्रवीण विष्ट र वडा नं ७ का राजबहादुर कार्की रहेका छन् ।